काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर बिहिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । गण्डकी क्षेत्रमा लासहरु पनि हिड्छन भन्ने मिथकमा यो चलचित्र बनेको यसको ट्रेलरले दर्शाएको छ ।
चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
यसका निर्देशक शङ्कर कोइरालाले पर्वतको मोदीमा आफुले सुनाएको एउटा बास्तविक कथामा यो चलचित्र तयार गरिएको ट्रेलर रिलिजका क्रममा बताए । हालसम्म अनौठो कथा भनेर प्रचार गरिएको यो चलचित्रको केही कथासार ट्रेलरमा उल्लेख छ । आफुले मन पराएको युवतीलाई विवाह गर्दा लाग्दा पनि ती युवतीले अर्कालाई मरिहत्ते प्रेम गरेपछि ती युवतीको हत्या गरिएको दृष्य ट्रेलरमा छ ।
तिनै मृत युवतीले भूतको रुपमा आफ्ना हत्याराहरुसँग बदला लिएको यो चलचित्रको ट्रेलरले दर्शाउँछ । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबीचको प्रेम सम्बन्ध र उनीहरुको प्रेममा अर्का अभिनेता प्रविण खतिवडा बाधक बनेको ट्रेलरमा उल्लेख छ ।
यो चलचित्रका अभिनेता प्रविण खतिवडाले ट्रेलर रिलिजका क्रममा भने,‘लासहरु हिड्छन भन्ने कुरा पूर्ण अन्धविश्वास हो । तर नेपालका पहाडी भूभागमा लासहरु पनि हिड्छन भन्ने मान्यता रहेछ र यो चलचित्र पनि सोही मान्यतामा आधारित छ ।’ चलचित्रको ट्रेलरमा देखाईएको दृष्य भन्दा कथा फरक भएको पनि उनले दाबी गरे ।
ट्रेलर अनुसार द्धन्द्ध, प्रेम, हास्य, वियोग जस्ता पक्ष समेटिएको यो चलचित्र करिब तीन दशक पुरानो कथामा केन्द्रित छ । जसमा पारिवारिक कथा पनि समेटिएको छ । अभिनेत्री रेजिना उप्रेती यो चलचित्रमा वर्षा सिवाकोटीको आमाको भूमिकामा छिन भने सरोज खनाल बाउको भूमिकामा छन् । मध्य साउनमा सार्वजनिक गर्न लागिएको यो चलचित्रले कस्तो बजार लिन्छ भन्ने’bout अहिले नै अनुमान गर्न गाह्रो छ ।
दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन ्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन एसडी योगी र शान भुसालको संगीत, स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर गीत रहेको छ ।




