काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाबाट डेढ वर्षमै बिजुली उत्पादन हुने भएको छ । आयोजना प्रमुख उमेश पराजुलीका अनुसार काम तीव्र भइरहेकाले एक वर्षभित्रै आयोजनाको निर्माण कार्य सकिनेछ । इलेक्ट्रोपावर कम्पनीद्वारा निर्माणाधीन आयोजनाको केही दिनअघि मात्र सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्पन्न भएको थियो ।
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले पावरहाउस निर्माण स्थलमा भर्टिकल शाफ्टको अन्तिम ब्रेक थ्रु स्वीच थिचेर गरेका थिए। अहिलेकै गतिमा काम भए छोटो अवधिमा आयोजना निर्माण सम्पन्न गर्ने निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना देशकै पहिलो आयोजना बन्न सक्ने उनको भनाइ थियो ।
भोटेकोशी गाउँपालिका वडा नम्बर ३ र ४ हिन्दीमा ड्याम र चाकुमा पावर हाउस रहने छ । आयोजनाको ८० मिटर ठाडो शाफ्टको अन्तिम ब्रेक थु भएसँगै निर्माण कार्यले तीव्रता पाएको पराजुलीको भनाइ छ । एक वर्षअघिबाट सुरु भएको आयोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । यस अवधिमा सुरुङमार्गको भौतिक प्रगति ५५ दशमलव ८७ छ । पराजुलीका अनुसार हेडर्वक्स ५२ प्रतिशत र इन्टरटनेल भौतिक प्रगति ४१ दशमलव ३६ रहेको छ । आयोजना प्रमुख पराजुली मिहिनेती श्रमिक, कर्मचारी, व्यवस्थापन टोली, स्थानीय समुदाय र विभिन्न सरोकारवालाहरूको सामूहिक प्रयासबाट आयोजनाले गति लिएको बताउँछन् ।
प्राकृतिक विपद, केही स्थानीयको अवरोध तथा सडकको नाजुक अवस्थालगायत चुनौतीका बाबजुद पनि आयोजनाले युद्वस्तरमा निर्माण कामलाई तीव्रता दिएको पराजुलीले बताए । भोटकोशी–१ जलविद्युत आयोजनालाई देशकै नमुना हाइड्रोपावर बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । यस वर्षको बाढीपहिरोको जोखिमबीच पनि आयोजनाले कामलाई अघि बढाउँदै आएको छ ।
अडिटमा पहिलो ब्लाष्टिङ २०८० चैतमा भएकोमा अडिट टनेलको भौतिक प्रगति १०० प्रतिशत भएको भूमिगत कामका व्यवस्थापक सागर ताम्राकारले जानकारी दिए । ड्यामबाट पावरहाउससम्म २६०० मिटर दूरी रहेकोमा दुवैतिरबाट सुरुङ खन्ने काम अहिले तीव्र गतिमा भइरहेको छ ।
आयोजनामा ७५ प्रतिशत कर्मचारी स्थानीय
भोटेकोशी–१ जलविद्युत आयोजनाअन्तर्गत रहेका कर्मचारीमध्ये ७५ प्रतिशत स्थानीय कर्मचारी छन् । आयोजनामा सञ्चालनमा रहेका १७ वटा टिपर, दुईवटा जेसिबि र १० वटा स्काभेटर स्थानीयकै रहेको छ । आयोजना निर्माण भएपछि स्थानीयको आयस्तर बढेको छ ।
स्नाथीय कृषिउपजले बजार भएको छ । स्थानीय स्तरमा रहेका तरकारी आयोजनाले खरिद गरिदिँदा त्यसको लाभ स्थानीयले पाएका छन् । आयोजनाले विभिन्न किसिमका जटिल रोग लागेका ९मुटु तथा मृगौलासम्बन्धी रोग० व्यक्तिहरु तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई आर्थिक सहयोग दिने गरेको छ । माघ महिनाभित्र अयोजनाका निर्माणकार्यका कारण चर्किएका व्यक्तिगत घर, टहरा तथा सार्वजनिक संरचनाहरूको निरीक्षण गरी क्षतिको एकिन विवरण तयार गरी क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने योजना रहेको आयोजनाले जनाएको छ ।
विपद व्यवस्थापनमा आयोजनाको सहयोग, १० कोठे पक्की घर हस्तान्तरण
निर्माणाधीन आयोजनाले गत वर्ष गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समितिले डाकलाङ पहिरोमा एक हजारवटा बाँसका विरुवा वृक्षारोपण गरेको थियो । वर्षातको समयमा पहिरोको जोखिममा रहेका लक्षित वर्ग तथा आर्थिक विपन्न समुदायलाई त्रिपाल वितरण गर्ने कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सारे गाउँ, वडा नम्बर ४ मा पर्ने सुनखानी थामी बस्ती, फुलपिङकट्टी र वडा नम्बर ३ मा पर्ने दुगुना बस्तीका चार सय विपन्न घरधुरीलाई चार सय थान त्रिपाल वितरण गरेको हो ।
आयोजनाले २०८१ साउनमा भोटेकोशी गाउँपालिका–४ स्थित लुक्सिङ बस्तीका ६० घरधुरीका दलित तथा विपन्न परिवारलाई प्रतिपरिवार एकबोरा चामल, एककिलो नुन, एक लिटर तेल र एकवटा त्रिपाल वितरणसमेत गरेको थियो ।
यस्तै, भोटेकोशी–१ जलविद्युत आयोजनाले चाकु बजारका स्थानीयलाई १० कोठे पक्की भवन हस्तान्तरण गरेको छ । एक रोपनी एक आनामा निर्मित पक्की भवन टोल सुधार समितिलाई हस्तान्तरण गरिएको हो । आयोजना प्रमुख उमेश पराजुलीले चाकु टोल सुधार समितिका अध्यक्ष सोमबारे शेर्पालाई घरको लालपुर्जा हस्तान्तरण गरेका थिए ।
आयोजनाले भोटेकोशी गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा रहेका मठमन्दिर तथा गुम्बा मर्मत सम्भारका लागि तथा नयाँ निर्माणका लागि गिटी, बालुवा, सिमेन्टm फलाम उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख पराजुलीका अनुसार भोटेकोशी गाउँपालिका–४ मा पर्ने डाकलाङ र लाङ खोलामा फड्के पुल निर्माण, चाकु बजारमा सार्वजनिक शौचालय र डाकलाङमा सार्वजनिक शौचालय तथा प्रतीक्षालय निर्माण आयोजनाले नै गरिदिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ कार्यालयदेखि भोटेकोशी आधारभूत अस्पतालसम्मको सडक ढलान, वडा नम्बर ४ डाक्तोलामा रहेको श्री महाकालीदेवी आधारभूत विद्यालयको मर्मत सम्भारको काम भइरहेको आयोजनाले जनाएको छ ।