काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिन यता उपत्यकामा हुँदै आएको अनियमित विद्युत् कटौतीको समस्या आज (पुस १५ गते, बुधबार) बाट अन्त्य हुने दाबी गरेको छ । चिसो बढेसँगै विद्युत्को माग बढ्दा प्राविधिक कारणले आएको समस्या समाधानको काम भइरहेको छ ।
माग र आपूर्तिबीच सन्तुलन (लोड) मिलाउने काम भइरहेको हुँदा आजबाट समस्या करिब समाधान हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘माग बढ्दा मिनभवन सबस्टेसनले लोड धान्न नसक्दा ट्रिप हुने समस्या दोहोरिएको छ,’ उनले भने, ‘साँझसम्म सबै समस्या समाधान हुन्छ ।’
न्यौपानेका अनुसार मिनभवनस्थित ६६ केभी सबस्टेसनमा भक्तपुर र लखनखेलको पाटन सबस्टेसनबाट आपूर्ति लिन मिल्छ । तर, त्यहाँ एउटा मात्र बसबार रहेको हुँदा एक पटकमा एक ठाउँबाट मात्र अर्थात् भक्तपुर (ठिमी) वा पाटनबाट मात्र विद्युत् लिन मिल्छ । दुबै ठाउँबाट एकै पटक विद्युत् लिन मिल्ने भएको भए समस्या हुने थिएन ।
प्राधिकरणले भक्तपुरका लागि आवश्यक लोड (विद्युत्) बानेश्वरबाट दिने र बानेश्वर अर्थात् मिनभवन ११ केभी लाइनमा भएको ओभर लोड (चाप) पाटन सबस्टेसन सार्ने काम गरिरहेको छ । यो व्यवस्थापन मिल्ना साथ अनियमित वा झ्याप–झ्याप लाइन काटिने समस्या अन्त्य हुने न्यौपानेले दोहोर्याए ।
गत वर्ष यही समयमा पनि भक्तपुर सबस्टेसन ओभर लोड भएर करिब एक साता समस्या देखिएको थियो । त्यतिबेला त्यहाँ १३२/११ केभिएको ट्रान्सफर्मर फेरेपछि समस्या समाधान भएको थियो ।




