शिक्षा / स्वास्थ्य

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला

काठमाडौं । सहमतिको विरुद्धमा विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार सहमती भएको विरोधमा उक्त सहमतीको माग गर्दै संस्थानमा ताला लगाइएकोपुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले जानकारी दिए ।

विधार्थीहरुको सहभागिता बिनै सहमति भएपछि इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्को सहमति गर्नुपर्ने मागसहित ताला लगाइएको अर्यालले बताए । इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।

बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति भएको थियो । तर आज उक्त निणर्यको विरुद्धमा संस्थानमा ताला लगाइएको जनाइएको छ । उक्त सहमति गर्न बुधबार बसेको बैठकमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका स्रोतले जनाएको छ । उक्त विषयमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त सहमति खारेजहुनुपर्ने माग राख्दै विरोध जनाएको छ ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *