शिक्षा / स्वास्थ्य

विपी प्रतिष्ठानको अनियमिततामा संलग्नलाई कारवाही गर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रतिबद्ध

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमिततामा संलग्नलाई कारवाही गर्ने प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गर्दै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

उनले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको जानकारी पनि दिए ।

समितिका अर्का सदस्य एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराए ।

उनले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानवीन गरी दोषीमाथि तत्काल कारवाही गर्न आग्रह गरे ।

बैठकमा समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थामा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए । बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन ध्यानाकर्षण गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *