काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो नयाँ दिल्ली यात्रा राजनीतिक उद्देश्यभन्दा पनि नेपालको आर्थिक विकास र समृद्धिसँग जोडिएको बताएका छन् । उनले नेपाललाई समृद्धिको दिशातर्फ अघि बढाउने सहकार्यको एजेन्डा लिएर भारत आएको उल्लेख गरे ।
प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले नेपाल अब केवल सम्मान खोज्ने अवस्थामा नरहेको, आर्थिक रूपमा पनि सक्षम बन्नुपर्ने आवश्यकता रहेको बताए । “राजनीतिक सम्बन्ध विस्तारका लागि धेरै नेताहरू भारत आएका छन्, तर म आर्थिक समृद्धिको सम्भावना खोज्न आएको हुँ,” उनले भने ।
उनले आफ्नो भ्रमण कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभएको स्पष्ट पार्दै भारतसँगको सहकार्य नेपाल र नेपालीको हितमा केन्द्रित रहेको धारणा राखे । भारतीय जनता पार्टी ९भाजपा० बाट प्राप्त सम्मान सम्पूर्ण नेपाली समुदायप्रतिको सम्मान भएको उनको भनाइ थियो ।
भारतले पछिल्लो दशकमा विकास र पूर्वाधारका क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपालले पनि सिक्नुपर्ने उल्लेख गर्दै लामिछानेले दुई देशबीच आर्थिक सहकार्य र कूटनीतिक संवादलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताए ।
प्रवास जीवनको अनुभव सुनाउँदै उनले विदेशमा रहेका नेपालीहरूको पीडा आफूले नजिकबाट बुझेको बताए । प्रवासी नेपालीका समस्या समाधान गर्न रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
लामिछानेले मुलुकमा राजनीतिक भागबन्डाको अभ्यास अन्त्य गरेर नागरिकको जीवनस्तर सुधारमा केन्द्रित राजनीति आवश्यक रहेको बताए । उनले प्रवासी नेपालीहरूलाई आफ्नो सीप, अनुभव र लगानी नेपालमै उपयोग गर्न आग्रह गर्दै देश रूपान्तरणको यात्रामा सहभागी हुन आह्वान गरे ।
कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या र चासो समेटिएको ज्ञापनपत्र लामिछानेलाई हस्तान्तरण गरेका थिए । नयाँ दिल्लीको कार्यक्रमपछि उनी अयोध्या भ्रमणका लागि प्रस्थान गरेका छन् ।




