काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा चर्किएको संकटबारे नेपाली सेनाले औपचारिक वक्तव्य सार्वजनिक गरेको छ। मंगलबार जारी विज्ञप्तिमा सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको जिउधनको सुरक्षामा पूर्ण प्रतिबद्धता दोहोर्याएको छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबैलाई संयमित रहन आह्वान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ, “देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।”





