काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार सांसदले भैरहवास्थित कारागारमै पुगेर सभापति रवि लामिछानेसँग भेट गरेका छन्। संसदीय दलको बैठकअघि भएको यो भेटलाई पार्टीभित्रको रणनीतिक संवादको थालनीका रूपमा हेरिएको छ।
सांसद असिम साह, डा। चन्दा काफ्ले र शोविता गौतम पनि लामिछानेलाई भेट्न अर्यालसँगै थिए। भैरहवामा हाल संसदीय दलको बैठक चलिरहेको छ, जहाँ पार्टीको भविष्य रणनीति र हालको राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ।
भेटमा लामिछानेले हस्ताक्षर संकलन अभियानमा देखिएको उत्साहप्रति खुसी व्यक्त गर्दै, जनस्तरसम्म सन्देश पुर्याउन नेताहरूलाई आग्रह गरे। उनले पार्टी नेताहरूलाई नेताको दम्भ नगर्न र भुईंमान्छे भएर जनताको कुरा सुन्न सुझाव दिएका छन्।
सांसद असिम साहले भने, “सभापति लामिछाने पहिलेभन्दा अझै फुर्तिलो र आत्मविश्वासले भरिएका देखिनु भयो। अहिले १० जनाको भिडमा ६ जना रास्वपाका समर्थक भेटिन्छन् भन्ने उहाँको विश्वास छ।”
अब रास्वपाको हस्ताक्षर अभियान, नेतृत्व रणनीति र लामिछानेको रिहाइपछि पार्टीको दिशा कता जान्छ भन्नेबारे चासो बढ्दो छ। अब के फन्डा बाहिर आउने हो भन्ने विषयमा सरोकारवालाले चासो देखाएका छन् ।



