देश

विद्युत महशुल बुझाउन सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयोः सांसद श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरूले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरूले पारेको बताए । उनले सिमेन्ट उद्योगीहरूले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको उल्लेख गरे । उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए ।

उनले भने ‘सिमेन्ट उद्योगीहरूले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको छ । यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ । सिमेन्टमा व्रह्मुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ । विद्युतको रकम बुझाउनको लागि सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरूले मूल्यवृद्धि गरेका छन् । सिमेन्ट व्यवसायीहरूले उपभोक्ताहरूलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन् । अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन् ।’

नेपाली काँग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए । उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने बताए । उनले अरुले दर्ता गरेको फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरूलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिए । उनले साना र मझौला व्यवसायीहरूलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताए ।

उनले सिमेन्टको मूल्य वृद्धि नियन्त्रणको लागि तत्काल समितिले निर्देशन दिनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरूले उपभोक्ताहरूलाई ठगी गर्ने काम गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *