
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता फैलाउने कार्य सकरात्मक नभएको बताएका छन् । आइतबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टी र जनतालाई नकरात्मक असर पर्ने टिप्पणी गरे ।
अध्यक्ष ओलीले भने,‘‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,’ ‘बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’
केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीभित्र सुशासन कायम राखी देश र जनताको हित हुने काममा लाग्न समेत नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए । अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमाथिको छलफलका लागि केन्द्रीय सदस्यहरूलाई तीनरतीन मिनेट धारणा राख्ने समय निर्धारण गरिएको छ ।
ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह समेत गरेका छन् । पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भन्ने नेताहरुले एमाले छोड्नुको पिडाले छट्पटाइरहेको बताएका छन् । अध्यक्ष ओलीले विरोधीहरूले सरकारमाथि लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न समेत नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले एमालेमाथि लगाइएका आरोपमाथि मुख बन्दा गरेर बस्न नहुने बताए ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको साझा धारणाले अस्थिरता चाहानेहरुको योजना बिफल बनाइदिएको बताएका छन् । वाह्य सम्बन्ध र वाह्य सहायता परिचालनमा सिंगो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुऱ्याएको छ,’ आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उनले पस गरेको राजीतिक प्रतिवेदनमा भनिएको छ, ‘संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको छ।’
बीआरआईको ढाँचामा भएको सहमतिलाई ओलीले विश्वेष महत्वको भनेका छन्। ‘यस सन्दर्भमा हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुऱ्याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ।’
तीव्र आर्थिक विकासका लागि स्रोतको अभाव रहेको भन्दै भन्दै बीआरआईबाट लगानी भित्र्याउन सहयोग पुग्ने ओलीको विश्वास छ। ‘जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे पनि अध्यक्ष ओलीले टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरुप तस्वीर भएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।
‘आफूसँग संसदभित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाँही पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैलाई पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य मान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरुप तस्वीर थियो’, प्रतिवेदनमा भनिएको छ ।
नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्। कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरे । ०७९ को चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले साथ दिएको थियो। त्यसमा ओलीले आत्मसमीक्षा गरेका छन्।