काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तानिएको छ । धादिङको प्रहरी प्रमुखको जिम्मेवारी एसपी दीपेन्द्र शाहीले पाएका छन् । यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता गरिसकेको छ। गृह मन्त्रालयले कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई आइतबार नै फिर्ता बोलाउने निर्णय गरेको हो।
विपद्मा सन्तोषजनक काम गर्न नसकेको भन्दै सीडीओ र एसपीलाई एकसाथ जिम्मेवारीबाट हटाइएको स्रोतले जनाएको छ। धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मन्त्रालयमा कार्यरत सुमन घिमिरेले पाएका छन् । काठमाडौँ आउने मुख्य नाका रहेको धादिङको झ्याप्लेखोलामा पहिरोमा परी ३५ जना यात्रुको ज्यान गएको छ। शुक्रबारदेखि नै उक्त स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प हुँदा पनि धादिङका प्रहरी र सीडीओले प्रभावकारी काम गर्न नसक्दा शनिबार साँझ मात्रै दुर्घटनास्थलमा खोज तथा उद्धारको काम सुरू भएको थियो। शनिबार साँझ त्यहाँ गाडीसँगै पुरिएका १४ जनाको शव फेला परेको थियो। आइतबार थप २१ जनाको शव निकालिएको छ।
गृहमन्त्रालयले काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँलाई समेत फिर्ता गरेको छ । काभ्रेको प्रमुख जिल्ला अधिकारीमा रमेश ढकाल सरुवा भएका छन्। काभ्रेका प्रमुख जिल्ला अधिकारी सेढाईँले विपद्का बेला जिल्ला छाडेका थिए। यस्तै प्रभावकारी समन्वय नहुँदा उद्धारमा ढिलाइ भएको र ठूलो जनधनको क्षति भएको भन्दै उनलाई जिम्मेवारी मुक्त गरिएको हो।
काभ्रेका तेमाल लगायतका स्थानमा पुरिएका व्यक्तिको खोजी सोमबार मात्रै सुरु भएको छ। तेमालमा एकै परिवारका ८ जना पुरिएका छन्। तीन जनाको शव निकालिएको र अरूको खोजी भइरहेको तेमाल २ का वडाध्यक्ष देवराज तामाङले जानकारी दिए।




