देश

पूर्वराजा, दुर्गा प्रसाईं मात्र होइन, परिवर्तनकारी दलका नेता नै संविधानको विरुद्ध लागे : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन। त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ,’ उनले भने ।

दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले त्यसको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषि हुन‍् कि भन्ने प्रश्न जनतामा उठिरहेको बताए।

‘संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यस्को संरक्षण गर्न नलागेको देखिन्छ,’ उनले भने, ‘यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ ।’ उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन्।

नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यस्को असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ। ‘नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन। संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ। तर, यस्को पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन,’ महरले भने।

यस्तै प्रतिनिधि सभामा मिश्रित समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हटाउनुपर्ने उनको तर्क छ। त्यसको कुनै पनि दललाई बहुमत पुगाउन बाधा गरिरहेको र त्यसले विकासमा समेत असर पारेको उनको बुझाइ छ। समानुपातिक प्रणाली राष्ट्रिय सभामा गर्नुपर्ने महले बताए। ‘संविधानका निर्माण गर्दा नेताहरू नै संविधानप्रति बढी जिम्मेवार हुनुपर्छ। दुर्गा प्रसाईं र पूर्वराजा प्रवृत्तिमात्र संविधानको बर्खिलापमा होइनन्। परिवर्तनधारी दलको क्रियाकलाप पनि संविधान बचाउने खालको भएन,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *