काठमाडौं । कोशी प्रदेशमा एमाले दलका नेता हिक्मतकुमार कार्कीलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाउने तयारीे छ । भोलि शनिबार बिदा भएकाले आजै साँझसम्म कार्कीलाई मुख्यमन्त्रीको शपथ गराउने तयारी थालिएको छ ।
सर्वोच्चको आदेशबमोजिम एमालेका कार्की सरकार गठनको प्रक्रिया लागेका छन् । उनले आजै दुईजनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने तयारी छ ।
सर्वोच्च अदालतले ४८ घन्टाभित्र ठूलो पार्टीको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न गरेको परमादेशको पत्र शुक्रबार दिउँसो १२ बजे प्राप्त गरेसँगै कोशी प्रदेश प्रमुखको कार्यालय नियुक्ति र शपथको तयारीमा जुटेको हो । कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले साँझ ६ बजेभित्रै शपथ गराउने तयारी भएको बताए । भोलि शनिबार भएकाले आजै नियुक्ति गर्न एमालेले दबाब दिएको हो ।
बिहीबार सर्वोच्च अदालतले नेपालकी कांग्रेसबाट कोशीको मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गर्दै पदमुक्त गरेको थियो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को ३ अनुसार कोशीमा ४८ घन्टाभित्र प्रदेशको ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।
९३ सदस्यीय कोशी प्रदेशमा एमालेका ४० सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीका १३, राप्रपाका ६, एकीकृतमा समाजवादीका चार र जसपाका एक सांसद छन् ।




