काठमाडौं। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र आज जारी गर्ने भएको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’’ का लागि आज अपराह्न ३ बजेदेखि अनलाइन बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार २२ गते फिर्ता गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा समानुपातिक आधारमा वितरण गरिने व्यवस्था छ।
राष्ट्र बैंकले स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ। स्वीकृत रकम निकासा मितिमा सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए जरिवानासहित छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र वैधानिक तरलता अनुपात (एसएलआर) गणनामा समावेश हुनेछ, तर अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गरिने छैन।




