काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। बैंकले आज अपराह्न ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार १६ गते फिर्ता गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। आवेदन ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रस्तावित ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएका अवस्थामा समानुपातिक रूपमा बाँडफाँट गरिने व्यवस्था छ।
राष्ट्र बैंकले स्वीकृत बोल रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ। स्वीकृत रकम निकासा हुने दिन सम्बन्धित संस्थाको खाताबाट स्वतः कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए जरिवानासहित सम्बन्धित संस्थालाई छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नदिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रलाई वैधानिक तरलता अनुपात (SLR) गणनामा समावेश गर्न सकिनेछ। तर, अनिवार्य नगद मौज्दात (CRR) गणनामा भने यसलाई समावेश गरिने छैन।




