महोत्तरी। दीपावली र छठ पर्व सकेर धान काट्न, चुट्न र थन्क्याउने तयारीमा रहेका महोत्तरीका किसानहरू बेमौसमी वर्षाले चिन्तित बनेका छन्। बुधबार मध्यरातदेखि लगातार परेको पानीले खेतमा पकिरहेको धान थन्क्याउन नसक्दा आर्थिक जोखिम बढेको छ।
जिल्लाको उत्तरी क्षेत्र—बर्दिबास, गौशाला र भङ्गाहा—मा पाकेको धान पहेंँलपुर भएको छ। किसान रामजुलुम बाँतरका अनुसार, “धान काट्ने समयमै पानी परेपछि बोटबाटै धान झर्ने डर छ। हिउँदे धान काटेर दुई–तीन दिन सुकाउनु पर्ने योजना बिथोलिएको छ।”
मधेशका उत्तरी क्षेत्रको बलौटे माटो र चाँडै पाक्ने बालीका कारण धान चाँडै रुखिन्छ। यस वर्ष लामो समय सुक्खा भएपछि रोपाइँ ढिला भएकोले धानको पकाइ कात्तिक दोस्रो साता पुगेको छ। किसानहरूका अनुसार, मध्य र दक्षिणी क्षेत्रमा रोपाइँ ढिला भएकाले पानीको असर त्यति ठूलो छैन, तर उत्तरी क्षेत्रमा पर्नेमात्रै धान नोक्सानको जोखिममा छ।
साथै, बेमौसमी वर्षाले हिउँदे तरकारी, गोडमेल, उखु रोपाइँ र बजारमा पठाउने तरकारीको अवस्था पनि प्रभावित भएको छ। किसान रामविनोद महतो भन्छन्, “पानी परेको कारण पालोमा टिपेर बजार पठाउनुपर्ने तरकारी छिप्पिन्छ, ढुसी लाग्ने र कीराको आक्रमण बढ्ने खतरा छ।”
किसानहरूले लगातार खडेरी, बेमौसमी वर्षा र मौसम प्रतिकूल परिस्थितिमा खेतीपाती गर्नु परेको गुनासो गरे। समयमै काम नहुँदा गहुँ, आलु, दलहन, तरकारी लगायत बालीको असर लामो समयसम्म रहिरहने जोखिम रहेको उनीहरूको अनुभव छ।
यसैबीच, मधेश प्रदेश सरकारले बंगालको खाडीबाट आएको मोन्था चक्रवातको प्रभावले प्रदेशका सबै जिल्लामा असर पर्ने भन्दै किसानलाई धान काट्ने काम तत्काल नगर्न सचेत गराएको छ। मुख्यमन्त्री जीतेन्द्र सोनलले अनुकूल मौसम नहुँदासम्म सावधानी अपनाउन आम जनता तथा कृषकलाई अपिल गरेका छन्। प्रदेश सरकारले नदीहरूमा बहाव बढ्ने सम्भावना भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन चेतावनी दिएको छ।



