काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असोज महिनासम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार नेपालले तिर्न बाँकी कुल ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाा रहेको छ ।
नेपालले तिर्न बाँकी रहेको ऋणमध्ये ४९ प्रतिशत आन्तरिक ऋण रहेको छ । हालसम्म लिइएको आन्तरिक ऋणमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, नेपालले तिर्न बाँकी रहेको बाह्य ऋणको हिस्सा ५०.९९ प्रतिशत अर्थात् १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
सरकारले चालू आर्थिक वर्षमा थप ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये असोजको अन्तिमसम्ममा लक्ष्यको २४.९२ प्रतिशत अर्थात् १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ उठाइसकिएको छ ।
दुई महिनाको अवधिमै सरकारले ८३ अर्ब ७ करोड रुपैयाँ ऋणको सावाँब्याज भुक्तानी गरेको छ । जुन लक्ष्यको २०.६२ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा ऋण तिर्नका लागि ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।




