अर्थ

आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएकाे भन्दै पूर्वअर्थमन्त्री महतद्धारा सरकारको आलोचना

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरी खेलबाड गरिएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक विधेयकमाफर्त आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको बताए ।

आयकर ऐनले कुनै पनि कम्पनीको शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था गरेको कुरा प्रविधिसँग रिलेटेड भनेर बजेट वक्तव्यमा उल्लेख गरिएको उनले बताए । तर आर्थिक विधेयकमा उल्लेख नगरीएको डा. महतको भनाइ छ । नयाँ आयकर नलाग्ने र पूँजीगत कर नलाग्ने व्यवस्था गम्भीर विषय रहेको भन्दै डा महतले सरकारको आलोचना गरे ।

महतको भनाइ उनकै शब्दमा

आर्थिक विद्येयकको कुरा गर्दा आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको छ । यसमा मेरो गम्भीर ध्यान गएको छ । यस विषयलाई मैले उठाउँदै आएको छु ।

यो व्यवस्थाले के गर्यो भन्दा शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था यस ऐनले गर्यो । यद्यपि यो प्रविधिसङ रिलेटेड भनेर बजेट वक्तव्यमा आयो । तर, आर्थिक विधेयकमा त्यो उल्लेख छैन ।

भनेपछि सबै खालका कम्पनीहरुमा यो लागु हुने भयो । यो गम्भीर विषय हो । जसरी हामीले एनसेलको विषयलाई राष्ट्रिय बहसको विषय बनायौँ । त्यसलाई उदाहरण दिने हो भने, एनसेल होस या अन्य विभिन्न कम्पनीहरू हुन । अब किनबेच नै गर्नुपर्ने भयो । तपाइले चुक्ता पुँजीका सेयर होल्डरको स्वामित्व कायम गरेर बाकि सेयर किनेर किनबेच गर्दा कुनै कर नलाग्ने भयो ।

हामीले त्यतिबेला एनसेलसँग टेली सोनिरीया एक्जीयटासँग १४४ अर्बमा किनबेच गर्दा पुँजिगत कर, ब्याज र जरिवानासहति गर्दा ४५ अर्ब हामीले प्राप्त गरेका थियौं । अब यो किनमेलको झमेलै नपर्ने भयो । १० करोडको चुक्ता पूँजी कायम गरिदिनुस् बाँकी जति किनबेच गर्नुहुन्छ । त्यसमा मेज्युरेटी शेयर होल्डर यसै हुने भयो ।

र अब तपाईले कुनै कर तिर्न नपर्ने व्यवस्था यसले गर्यो । यो भनेको गम्भीर खेलबाड भएको छ । यसले करको वेसलाई इरोड गरेको छ । यो नियोजित किसिमबाट प्रस्तावित गरिएको छ भन्ने मेरो ठहर छ ।

यसले कर बढाउने, राजस्व बढाउने लक्ष्य सरकारले राखेको छ । त्यसलाई समाप्त गर्छ । यसका साथै किनबेच गर्दा आयकर नै नलाग्ने, पुँजीगत कर नलाग्ने जुन व्यवस्था यसले गर्यो यो गम्भीर विषय हो । यसलाई गम्भीरताका साथ लिन अनुरोध गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *