काठमाडौं । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ८ जनालक्राउ परेका छन् ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त अपराधमा संलग्नलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणी पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पुर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरिएको र थप अनुन्धान जारी छ ।




