अर्थ

आगामी वर्षायाममा बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आउँदो बर्षायाममा नेपालमा उत्पादित ४० मेगावाट विद्युत भारतीय प्रशारणलाईनमार्फत बंगलादेशमा निर्यात गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिका एक सदस्यका अनुसार सो विद्युत ढल्केबार मुजफ्पुर प्रशारण लाईनमार्फत प्रबाह गरेर भारतीय प्रशारण लाइनमा पठाइने छ । भारत र बंगलादेशबीच पनि अन्तरदेशीय प्रशारण लाइन छ । बंगलादेशले सोही प्रशारण लाइनको निर्यातबिन्दुबाट नेपालबाट लिएको ४० मेगावाट विद्युत लिएर आफ्नो देशको प्रशारण लाइनमा लैजाने छ ।

बंगलादेशले बहरामपुर भेरामारा भारत बंगलादेश अन्तरदेशिय प्रशारणलाइनबाट ५०० मेगावाट विद्युत आयात गर्दछ भने त्रिपुरा केमिला प्रशारणलाईन अन्तरआबद्धता आयोजनाबाट १५० देखि १६० मेगावाट विद्युत आयात गर्दछ ।
बंगलादेशको सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्न गत डिसेम्बरमा निर्णय गरिसकेको थियो । बंगलादेशको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिले यससम्बन्धी प्रस्तावमा डिसेम्बर ६ मा प्रारम्भिक सैद्धान्तिक सहमति दिएको थियो ।

नेपालको ४० मेगावाट विद्युत आफ्नो प्रशारणलाईनबाट बंगालादेश निर्यात गर्न भारतले सहमति दिएको छ । नेपालले ढल्केबारबाट बंगलादेशलाई ४० मेगावाट विद्युत दिने छ । बंगलादेशले भारतसँगको अन्तरदेशीय प्रशारण लाईन बिन्दुबाट त्यति नै क्षमताको विद्युत लिने छ । झण्डै एक बर्ष पहिले नै नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबीच २०८० को वर्षायामदेखि भारतीय प्रशारण लाइनमार्फत नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न दिन सहमत भएका थिए ।

सन २०२३ को फ्रेबुअरीमा भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकहरूमा उक्त सहमति बनेको थियो। सो सहमतिबारे पछि बंगलादेशका ऊर्जा सचिवलाई जानकारी गराइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *