संकल्प खबरले विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ ।
दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि असार १४ गते बिहिबार संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
कोशी प्रदेशसभा बैठक अनिश्चित
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि आह्वान गरेको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थिगित भएपछि संचालनमा आउन सकेन् । कोशीका मुख्यमन्त्रीले विश्वासको मत माग्न बिहिबारलाई प्रदेशसभाको बैठक आह्वान गरेका थिए । आधा घण्टाका लागि स्थिगित भएको बैठक संचालनमा नआए संसद विघटन गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन्
।
कोशि प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेपछि मुख्पमन्त्री कार्कीले विपक्षी दलका नेताहरुसंग पनि विश्वासको मत मागेका थिए ।
७७ बुँदामा प्रचण्ड सरकारले ६ महिनामा गरेका प्रमुख काम
नेकपा माओवादीका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गरेको ६ महिनाको अवधिमा उपलब्धि हासिल गरेका कार्य ७७ बुँदा सार्वजनिक गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन गरेको असार ११ गते ६ महिना पुरा भएको भएको हो ।
सरकारले जिम्मेवारी सम्हालेको छ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । सरकार गठन भएको ६ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा भ्रस्ट्रचारविरुदको फाइल खोलेका छन् । यसलाई नागरिकहरुले विशेषरुपमा हेरेका छन् ।
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ –प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले बिहिबार नेपाल उद्योग परिसंघ सिएनआई) का नवनिर्वाचित पदाधिकारी भेट गरेका छन। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत
एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो ।
इलाममा योगेश भट्टराईलाई कालो झण्डा
नेकपा एमालेका नेता योगेश भट्टराईविरुद्ध इलाममा पहिचानवादीले कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् ।
मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘बिहिबार लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी हुन इलाम पुगेका एमाले सांसद भट्टराईविरुद्ध प्रदर्शन गरिएको हो ।
भट्टराईले केही दिनअघि सदनमा बोल्ने क्रममा पहिचानवादी आन्दोलनकारीले केपी ओलीलाई एम्बुस थापेको, प्रदेशसभामा कोशी नाम प्रस्तावक राम राना मगरलाई आगो लगाएको र सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को मृत्युबारे सहिदकै अपमानहुने गरी बोलेका थिए ।
इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद धुमधाम साथ
इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद धुमधाम साथ मनाएका छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले बिहिबार बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेर मनाएका हुन् ।
सोही अवसरमा नेपालमा रहेका घन्टाघर लगायतस्थानका मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढ्दै एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।
इस्लाम धर्मालम्बीहरुको महान चाड वकर इदको उपलक्ष्यमा प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्ड, कांग्रेसभापति देउवा,राष्ट्रपति लगायतका नेताहरुले धर्म र पर्व सबैका लागि बराबरी सन्देशसहित शुभकामना दिएका थिए।
अस्पतालाई रू ८८ लाखको सामग्री हस्तान्तरण
मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले रू ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै मुटुरोग सम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।
राष्ट्रिय प्रसारणमा जोडियो १२६ मेगावाट बिजुली
लमजुङस्थित दोर्दी कोरिडोरबाट १२६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् ।
तरुण दलको तदर्थ समितिमा ४ सय जना मनोनित
नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बिहिबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै कार्यसमिति सदस्यमा मनोनित भएका ४ सय जनाको नामावली सार्वजनिक गरेका छन् ।
२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध प्रर्दशन
२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्याङ्कर चालकहरूले बिहिबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।
उनीहरूले कलङ्की(बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित बनेको थियो ।राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी सङ्घको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूले आफूहरूका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका थिए ।




