अर्थ

अमेरिकाको घोषणा : आगामी ५ वर्षमा नेपालमा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने

काठमाडौं । अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।

पाटन दरबार क्षेत्रमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उप–विदेशमन्त्री नुल्यान्डले अमेरिकाले हरित ऊर्जा, विद्युतीकरण तथा महिलाले सुरु गरेका व्यवसायमा लगानी गर्ने बताए ।

उप–विदेशमन्त्री नुल्यान्डले स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रलाई अमेरिकाले प्राथमिकतामा राख्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौडेलसँगको भेटवार्ता फलदायी रहेको बताउँदै उप(विदेशमन्त्री नुल्यान्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका विषयमा छलफल भएको बताए ।

संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउने तथा अमेरिकी लगानी भित्र्याउन अनुकूल वातावरण बनाउनेबारे पनि भेटमा छलफल भएको उप–विदेशमन्त्री नुल्यान्डले बताए ।

भेटमा भ्रष्टाचारविरुद्ध लड्न र लोकतन्त्रलाई पारदर्शी बनाउने विषयमा पनि छलफल भएको नुल्यान्डले बताए ।

पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलन गर्नुअघि उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *