काठमाडौं।गत आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष विप्रेषण आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो।
अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख ५४ हजार ६६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो।
समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेकोछ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।




