अर्थ

जेठमै रोपाइँ गर्न भ्याइनभ्याइ

बागलुङ । असार नलाग्दै बागलुङका किसानलाई रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवा फाँटलगायतका ठाउँमा मध्यजेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख भानु भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने बताए । ‘वर्षा पनि भइरहेकाले रोपाइँलाई सहज बनाएको छ’, उनले भने, ‘असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिइसक्छ ।’ गलकोट नगरपालिका-७ बामियाका सचित्र गुरुङले रोपाइँले किसान बेफुर्सदिला बनेको बताए । उनी आफै पनि चार दिनयता लगातार घरकै रोपाइँमा खटेका छन् । चिसापानीमा गुरुङको १५ मुरी धान फल्ने खेत छ ।

‘रोपाइँको चापाचाप छ, गलकोटको मजुवा, आँगाखेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ चलिरहेको छ’, गुरुङले भने, ‘गलकोटमा धेरैजसो रोपाइँ जेठमै सकिन्छ ।’ त्यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो । त्यहींमाथि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई थप राहत मिलेको छ ।

नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीं भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ । केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क दिन सकिने केन्द्रका प्रमुख भट्टराईले बताए ।
जिल्लाको कूल पाँच हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ ।

‘यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ’, प्रमुख भट्टराईले भने, ‘उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।’परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उहाँको भनाइ छ । उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *