काठमाडौं । मंगलबारबाट शुरु भएको विजुली निर्यात लक्ष्मी पूजाको दिन बिहिबार ४८ मेगावाट बिजुली भारत पठाइएको छ ।
पहिलो चरणमा मङ्गलवार राति ३९ मेगावाट विद्युत् भारतमा निर्यात गरेको नेपालले लक्ष्मी पूजाको दिन ४८ मेगावाट बिजुली भारत पठाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको उच्च माग १२ सय ७० मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट रहेको थियो ।
पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी त्यहीअनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको प्राधिकरणले जनाएको छ । यस वर्ष काठमाण्डौ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२० दशमलव ६४ मेगावाट रेकर्ड गरिएको छ ।
गएको वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो । चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६ सय १४ दशमलव ८ मेगावाट रेकर्ड गरिएको छ ।




