काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रादायक कम्पनी एनसेलले उपभोक्तालाई जानकारी नदिइ कसरी ठगी गर्दो रहेछ भन्ने तथ्य हालै सार्वजनिक भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ३ महिनाभित्र उपभोक्ताबाट अनाधिकृत रुपले उठाएको १ अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएपछि उक्त ठगीको रहस्य सार्वजनिक भएको हो ।
प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्वसाधारणबाट ठगी गरेको रकम फिर्ता गर्न निर्देशन दिएको हो । प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले गरेको निर्णय भदौ ४ गते सदर गरेको हो । सर्वसाधारण उपभोक्ताको ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा पठाउन निर्देशन प्राधिकरणको बोर्ड बैठकले गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
उपभोक्ताको मोबाइलबाट ठगी गरेको रकम उपभोक्ताको मोबाइलमै फिर्ता गर्न निर्देशन गरेको प्राधिकरणले एनसेललाई थप ५० हजार जरिवाना समेत गरेको छ। एनसेलले मौजुदा ऐन, नियम, निर्देशन र कार्यविधि पालना नगरी भ्यालु एडेड सर्भिस सञ्चालन गरी उपभोक्तालाई ठगी गरेको विषयमा प्राधिकरणले पटक पटक किन कारबाही नगर्ने भन्ने विषयमा एनसेल आजियाटालाई स्पष्टीकरण सोधेको थियो।
एनसेलले उपभोक्ताको मोबाइलबाट स्वीकृति नै नलिइ रकम कटाएर लाभ लिएको प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले एनसेललाई गरेको यो अहिलेसम्मकै ठूलो कारबाही हो । रकम फिर्ता गर्दा विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना उपलब्ध गराउन समेत एनसेललाई निर्देशन दिइएको छ । ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन भनिएको छ।
एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस सञ्चालन गरी के कति रकम आर्जन गरेको हो सो को जानकारी पनि १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ।
एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो। यसमा एनसेलले चित्त बुझ्दो जवाफ नदिएपछि नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले उनलाई कारबाही गरेको हो।
गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म उपभोक्ताहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाइ गरेको थियो।
उपभोक्ताहरूको स्वीकृति विना अटो रिन्यु गरी रकम कटाएको उजुरी परेपछि प्राधिकरणले गठन गरेको छानबिन समितिले समेत एनसेल आजियाटालाई दोषी पाएको थियो। यस लगत्तै प्राधिकरणले २०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो।
प्राधिकरणले एनसेल आजियाटालाई कारबाही गरेको निर्णय यस प्रकार छ





