काठमाडौं । सोमवार शेयर बजार १ दशमलव ०५ प्रतिशत बृद्धि भएको छ । सोमबार समग्र शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अंक बढेर २ हजार ६४५ दशमलव ८५ विन्दुमा पुगेको हो । २ हजार ६१३ दशमलव १८ विन्दुदेखि खुलेको सोमवारको बजार २ हजार ६०८ दशमलव १८ विन्दुसम्म झरेर उकालो लागेको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने ४ अर्ब २० करोड ३८ लाख ३२ हजारमा खुम्चिएको छ । २१८ कम्पनीको ५१ हजार २३५ पटकको व्यापारमा ७५ करोड ७९ लाख ३ कित्ता शेयर यो दिन खरिद विक्री भएको हो । आइतवार भने रू। ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको थियो ।
सोमवार कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको २७ करोड ४ लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९३ प्रतिशत बढेको छ ।
सोमवार तीन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यो दिन राष्ट्रिय बीमा कम्पनीको १० प्रतिशतले र समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत र रूरू जलविद्युत परियोजनाको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ ।
राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्य यो दिन प्रतिकित्ता १ हजार ७५० ले बढेर अन्तिम मूल्य १९ हजार २५० पुगेको छ । त्यस्तै समता घरेलु लघुवित्तको प्रतिकित्ता रू। ८० ले बढेर अन्तिम मूल्य ८८४ र रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू। ५४ ले बढेर अन्तिम मूल्य ६०२ पुगेको छ ।




