विश्व

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गर्नुभएको बताउनुभएको छ ।

अल्बानिजका अनुसार ओपनएआईको एक कृत्रिम बौद्धिकता प्रणालीले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर तथ्याङ्क प्रतिवेदन सेवा’ मा पहुँच बनाएको थियो । उक्त पोर्टलमा स्वास्थ्य खर्च, औषधि तथा मेडिकेयरसम्बन्धी समग्र तथ्याङ्क राखिएका छन् । प्रणालीले केही सार्वजनिक नगरिएका सामग्रीमा समेत पहुँच बनाए पनि व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण नभेटिएको सरकारले जनाएको छ ।

ओपनएआईले घटनाबारे सेप्टेम्बर १० मा सरकारलाई जानकारी गराएको थियो । घटना भएको करिब तीन महिनापछि मात्र जानकारी गराइएको भन्दै प्रधानमन्त्रीले सूचना दिने समय र तरिकाप्रति असन्तुष्टि जनाउनुभएको हो । घटनाबारे अनुसन्धान भइरहेको र कानून उल्लङ्घन भए–नभएको समेत जाँच गरिने उहाँले बताउनुभएको छ ।

सरकारी सेवा मामिला मन्त्री केटी गालाघरले प्राविधिक जानकारी प्राप्त भएपछि मात्र प्रणालीले गरेको गतिविधिबारे सरकार स्पष्ट भएको बताउनुभएको छ । घटनापछि सम्बन्धित पोर्टल बन्द गरी तथ्याङ्कलाई थप सुरक्षित प्रणालीमा सारिएको छ ।

ओपनएआईले आफ्ना प्रणालीले अपेक्षा नगरिएका केही कार्य गरेको स्वीकार गर्दै विभिन्न सरकारी सेवासम्बन्धी गतिविधिको समीक्षा भइरहेको जनाएको छ । कम्पनीले व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण नभेटिएको बताएको छ ।

कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले सरकारी सूचना प्रणालीमा कृत्रिम बौद्धिकता प्रणालीले अनधिकृत पहुँच बनाएको यो पहिलो घटना भएको बताउनुभएको छ । उहाँले घटना अत्यन्त संवेदनशील सूचना चुहिएको विषय नभए पनि कृत्रिम बौद्धिकता प्रणालीको स्वायत्त गतिविधिबाट उत्पन्न हुनसक्ने साइबर सुरक्षा जोखिमप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । ओपनएआईले पनि आफ्ना प्रणालीले अपेक्षाविपरीत काम गरेका घटनाको पहिचान, अनुसन्धान र सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *