काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा सांसदहरूले दन्त स्वास्थ्य सेवालाई प्राथमिकता दिई स्थानीय तहसम्म विस्तार गर्नुपर्ने, चाडपर्व तथा विपद्का बेला बढ्ने हवाई भाडादर नियन्त्रण गर्नुपर्ने, भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना गर्नुपर्नेलगायत विषय उठाएका हुन्।
सांसद अमृता धितालले दन्त स्वास्थ्य सेवा अझै ग्रामीण क्षेत्रसम्म प्राथमिकताका साथ पुग्न नसकेको बताउँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन्। मुखको क्यान्सर नियन्त्रणका लागि पनि दन्त स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
सांसद डा. अच्युतम लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले हालसम्म गरेका कामबारे सदनलाई जानकारी गराउन माग गरे। उनले पुनःसंरचनाका लागि कुनै कमी हुन नदिने गरी कार्ययोजनासहित काम गर्न सरकारसँग आग्रह गरे।
सांसद अनुष्का श्रेष्ठले पर्यटन नीतिमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद अम्बिका देवी सङ्ग्रौलाले अमेरिकाको ‘ग्रेजोन मिडिया’ले नेपालका सम्बन्धमा प्रकाशित गरेको समाचारबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन्।
सांसद अरविन्द झाले निजगढ विमानस्थल निर्माणमा ढिलाइ हुँदा लागत बढेको उल्लेख गर्दै तत्काल कामलाई तीव्रता दिन र विस्थापित समुदायका माग सम्बोधन गर्न माग गरे।
सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढी प्रभावितलाई नजिकिँदै गरेको चाडपर्वअघि व्यवस्थित पुनःस्थापना गर्न आग्रह गरे। सांसद अशोक चौधरीले सङ्घीयताको अनुभूति दिलाउन जनताको घरदैलोमा विकास र शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्ने बताए।
सांसद आकृति अवस्थीले चाडपर्वको मुखमा आन्तरिक हवाई उडानको भाडादर महँगो हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद आनन्दबहादुर चन्दले स्वास्थ्य बिमा सर्वसाधारण नागरिकका लागि उपचारको ठूलो आधार भएको उल्लेख गर्दै यसलाई स्थानीय तहसम्म तथा अनौपचारिक क्षेत्रमा समेत विस्तार गर्न माग गरे।
सांसद आरेन राईले जेनजी आन्दोलनका घाइतेका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
बैठकमा आशा झा, आशिष गजुरेल, आशिका तामाङ, उत्तमप्रसाद पौडेल, एलिजा गुरुङ, एसुदाकुमारी बराल, कन्हैया बनिया, करिष्मा कठरिया, कविन्द्र बुर्लाकोटी, कामिनी कुमारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृष्णहरि बुढाथोकी, कोमल ज्ञवाली, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खिमा विक, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गणेश पौड्याल, गणेशबहादुर विश्वकर्मा, गुरुप्रसाद बराल, गोपाल शर्मा, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंहलगायत सांसदहरूले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसदहरूले होल्डिङ सेन्टरमा रहेका भोटेकोशी बाढी प्रभावितका लागि तत्काल पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने तथा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभामा हुने आसन्न भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्नेलगायत विषय सभामुखमार्फत सरकारसमक्ष राखेका थिए।




