काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विधेयकमाथिको सैद्धान्तिक छलफलपछि बैठकले विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सांसदहरूले दिएका सुझाव ग्रहण गर्दै दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए ।
उनले प्रणालीगत तरलतालगायत विषयलाई विद्यमान संरचनाले प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेकाले अर्थतन्त्र सुधारको प्रयासस्वरूप विधेयक ल्याइएको बताए ।
छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिएका थिए ।
उनीहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा भित्रिनु सकारात्मक भए पनि त्यसबाट नेपालले प्राप्त गर्ने लाभ तथा कारोबारको सुरक्षाबारे स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।
विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जानकारी गराएका छन् ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका प्रस्थान गरेकाले प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा. वाग्लेलाई तोकिएको पत्रको व्यहोरा पनि पढेर सुनाइएको थियो ।
प्रतिनिधि सभाको बैठक जारी छ ।




