काठमाडौँ। पूर्वसभामुख अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महराले नेपालको संविधानको परिधिमा रही परिवर्तनको पक्षधरका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उहाँहरूले भनेका छन्, “ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ। राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य छ। सङ्घीय संसद्बाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग नै वैधानिक र उपयुक्त हुनेछ।”
उहाँहरूले संविधान कार्यान्वयन र सरकार सञ्चालनका क्रममा देखिएका कमीकमजोरी स्वीकार गरी गम्भीर समीक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।
नेपाली जनताको बलिदानी सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धिको संरक्षण गर्नु सबैको दायित्व हुने उल्लेख गर्दै उहाँहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।




