देश

माओवादीको तराई-मधेस जागरण अभियान नवलपरासीबाट पुनः थालनी

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानलाई आजदेखि पुनः सुरु गरेको छ। अभियानको पहिलो दिन आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन्।

पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाका अनुसार अभियानमा सहभागीहरूले बिहानै छ किलोमिटर ‘मर्निङवाक’ गरेका थिए। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले जानकारी दिएअनुसार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट-१४ स्थित सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेका थिए।

अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार र शुभेच्छुकलगायत स्थानीय व्यक्तिहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका थिए। सापकोटाले विनयी त्रिवेणी–६ त्रिवेणीधामको अवलोकन गरी अध्यक्ष दाहालले यहाँका स्थानीय बासिन्दासँग पनि विभिन्न विषयमा छलफल गरेको बताए। पाल्हीनन्दन गाउँपालिका-५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम आयोजना गरिएको छ भने जिल्ला सदरमुकाम परासीलगायत अन्य ठाउँमा पनि यस्ता कार्यक्रमहरू गर्ने तयारी भइरहेको छ।

नवलपुरको गैँडाकोटबाट पुनः थालनी भएको यो अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा केन्द्रित भएको छ। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्याहरूलाई नजिकबाट बुझ्ने र तिनको समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्य राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *