जलश्रोत/उर्जा

अन्धकार हट्यो: बौदीकाली–५ ववकमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

त्रिवेणी (नवलपरासी) । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा लामो प्रतिक्षापछि बल्ल बिजुली पुगेको छ। तार र खम्बा गाडिएको धेरै समयपछि गाउँमा बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन्।

पहिलोपटक गाउँमा बिजुली पुगेपछि बौदीकाली–५, ववकका गेषबहादुर रानाले भने, “लामो समय अन्धकारमा बस्नुपरेको थियो, अब भने हाम्रो गाउँ उज्यालो हुने भयो।”

बौदीकाली–५, ववकका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले र बेसारडाँडाका करिब दुई सय परिवार विद्युतीकरणबाट लाभान्वित हुनेछन्। बिजुली नहुँदा टुकीको भरमा जीवन बिताउन बाध्य उनीहरूले अब विकासका अन्य सम्भावनाका ढोका खुल्ने आशा व्यक्त गरेका छन्। हाल विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरहरूमा मिटर जडानको काम भइरहेको छ।

बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले ‘उज्यालो बौदीकाली’ कार्यक्रम अन्तर्गत ववकमा बिजुली पुर्‍याइएको बताए। पालिकाले सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उनले जानकारी दिए। अध्यक्ष ओझाले भने, “अहिलेको समयमा पनि अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यसैले विद्युतीकरणका लागि बजेट विनियोजन गर्यौं। अहिले ववकमा बिजुली बाल्न सफल भएका छौं।”

गाउँपालिकाभित्रका चारवटा वडामा विद्युत् नपुगेकोमा यसअघि वडा नम्बर ३ र ४ मा विद्युतीकरण सम्पन्न भएको अध्यक्ष ओझाले जानकारी दिए। वडा नम्बर ५ ववकमा विद्युतीकरण भएपछि अब वडा नम्बर ६ नरममा पनि छिट्टै विद्युत् पुर्‍याइने उनले बताए। बुलिङटारको बोझा पोखरीमा विद्युत् सबस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरण सहज भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *