काठमाडौँ । इटालीका चर्चित प्रशिक्षक रोबेर्ट मान्सिनी साउदी अरबको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बनेका छन् ।
अगस्त १३ मा इटालीको राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मान्सिनीले साउदी राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् ।
गत विश्वकपमा अर्जेन्टिनालाई पराजित गरेर सनसनी मच्याएको साउदी अरेबियाले आफ्नो लिगमा युरोपका सुपरस्टार खेलाडी भित्र्याइरहेको बेला राष्ट्रिय टिमको प्रशिक्षकमा पनि अनुभवी मान्सिनीलाई भित्र्याएको छ ।
५८ बर्षिय मान्सिनीले साउदीमा चार बर्षको सम्झौता गरेका छन् । उनले बार्षिक २५ मिलियन युरो पारिश्रमिक पाउने मिडिया रिपोर्टमा बताइएको छ ।
उनले नेतृत्वमा साउदी टिमले पहिलो खेल सेप्टेम्बर ८ मा कोस्टा रिकासँग हुने मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मान्सिनीले यसअघि इन्टर मिलान, म्यानचेस्टर सिटी लाजियो जस्ता ठुला क्लबको प्रशिक्षकको भूमिका निभाईसकेका छन् । उनको नेतृत्वमा इटालीले २०२० मा युरो कपको उपाधि जितेको थियो ।




