काभ्रे । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ ।
प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला प्रेमसिद्धि प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो ।
दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गरेका हुन् । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैलाश पलाञ्चोके, घरेल तथा साना उद्योग महासङ्घ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गरेका थिए ।




