काठमाडौँ। फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समूह ‘डी’को विजेताका रूपमा नकआउट चरणमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग ३–२ गोलले पराजित भए पनि यसअघि लगातार दुई खेल जितेकाले अमेरिका ६ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो।
अन्तिम खेलमा टर्कीले इन्जुरी समयको आठौँ मिनेट (९०+८) मा कान आयहानको निर्णायक गोलसँगै ३–२ को रोमाञ्चक जित निकालेको हो।
खेलको तेस्रो मिनेटमै अस्टिन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर १०औँ मिनेटमा अर्दा गुलरले बराबरी गोल गरेपछि ३१औँ मिनेटमा ओर्कुन कोक्चुले गोल गर्दै टर्कीलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफको ४९औँ मिनेटमा सेबास्टियन बरहाल्टरले अमेरिकाका लागि बराबरी गोल फर्काए। खेल बराबरीतर्फ उन्मुख देखिए पनि इन्जुरी समयमा आयहानले गोल गर्दै टर्कीलाई जित दिलाए।
जितका बाबजुद टर्की भने समूह चरणबाटै बाहिरिएको छ। उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजय बेहोरेको थियो।




