
वैशाख २७ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा मन्त्रिपरिषदका निर्णय देखि दुर्गा प्रसाईँका कार्यकर्ताद्धारा झापाको दुई बैंकमा तोडफोडसम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
यस्ता छन्, मन्त्रिपरिषदका निर्णय
सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो । त्यस्तै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज ९बिहीबार० बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी खेलकुद मन्त्रालयको प्रस्तावमा क्रिकेट, कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ४२ खेलाडीलाई पुरस्कार वापतको रकम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।
मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा
कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रदेश प्रमुखले बुधबार साँझ मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ बन्द छ। उता कोशीमा भने एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। आजै साँझ सपथ गराउने कार्यक्रम तय भइसकेको छ।
आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने र अब अर्को सरकार बनाउन नमिल्ने केदार कार्कीको माग छ। यता सत्ता गठबन्धनले भने केदार कार्की एक महिनादेखि अल्पमतमा रहेको र विश्वासको मत लिनु समय पनि गुजारी सकेकाले उनी पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठन गरिसकेको छ। रिटमा कार्कीले प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे पनि त्यसलाई बदर गर्न माग गरेका छन्।
कांग्रेस नेता गुरुङको अन्त्येष्टि
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शवलाई पशुपति आर्यघाटमा पुगेर सभामुख देवराज घिमिरेले श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै घिमिरे दिवंगत आत्माको चीर शान्तिको कामनाको साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।
तीन न्यायाधीशको सरुवा
उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ। बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ। हाल उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा काजमा रहेका न्यायाधीश खड्गबहादुर केसीको उच्च अदालत पोखरा (बागलुङ इजलास) मा सरुवा गरिएको छ।
त्यस्तै उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा रहेका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखरा, बागलुङमा काज सरुवा गरिएको छ। त्यसैगरी उच्च अदालत पोखराको, बागलुङ इजलासमा रहेका न्यायाधीश मदन पोखरेललाई उच्च अदालत सुर्खेतमा काज सरुवा गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ।
उपनिर्वाचनमा बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीद्धारा सपथ ग्रहण
उपनिर्वाचनबाट बझाङ क्षेत्र नं. (१) निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार भण्डारीलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
कांग्रेस संसदीय दलको बैठक स्थगित
शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ । विहीबार विहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारले एक सूचना जारी गर्दै बैंठक स्थगित भएको जनाएको छ ।
‘आज मिति २०८१ बैशाख २७ गते दिनको १ः०० बजे नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दिनको २ः०० नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हालमा बस्ने भनिएकोमा पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय सूर्यमान गुरुङको २०८१ बैशाख २५ गते असामयीक निधन भई आज २०८१ बैशाख २७ गते अन्त्येष्टि गरिने हुँदा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक २०८१ बैशाख २८ गते विहान ८ः०० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक २०८१बैशाख २८ गते विहान ८ः३० बजे बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेगरी स्थगित भएको जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ । बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल गर्ने कांग्रेसको तयारी थियो ।
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ । २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।
पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ । बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।
पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपालका पुर्व कप्तान समेत रहेका खड्काले सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन् ।
उनले अगाडी भनेका छन्- ‘नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’ खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ: भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन् ।
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र माओवादीका १३ जनागरि ५२ जना सांसदको समर्थन रहेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैंँलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुगेका हुन् । उनले दायर गरेको रिटमाथि भोलि प्रारम्भिक सुनुवाई हुनेछ ।
दुर्गा प्रसाईँका कार्यकर्ताद्धारा झापाको दुई बैंकमा तोडफोड
दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । र्यालीका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । बिहीबार उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्याली निकालेको थियो ।
बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२र१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल प्रहरीको नियन्त्रणमा परेका छन् ।