देश

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका नीतिगत सुधार र सुशासनका प्रयासका कारण राजस्व सङ्कलनमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको उल्लेख गर्दै उनले सरकारले निर्धारण गरेको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनुलाई सुशासनको प्रतिफलका रूपमा लिनुपर्ने बताए ।

आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको राष्ट्रिय कर दिवस–२०८३ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले गत असोजमा समग्र कर राजस्वको लक्ष्य पूरा भएको जानकारी दिए । सरकारले अघि बढाएका सुधारका कार्यक्रमले परिणाम दिन थालेको उनको भनाइ थियो ।

उनले कर अनुपालन बढाउन सरकारले सञ्चालन गरेको ‘बम्पर उपहार योजना’ पनि एउटा प्रोत्साहनमूलक प्रयास भएको बताए । यद्यपि, दीर्घकालीन रूपमा कर प्रणालीमा सुधार, आर्थिक गतिविधिको विस्तार र स्वेच्छिक कर अनुपालनलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालित प्रणालीलाई सुशासनको अभिन्न अङ्गका रूपमा अघि बढाइएको बताए । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित तथा व्यवसायी र करदातामैत्री बनाउन प्राविधिक सुधार भइरहेको उनले जानकारी दिए ।

कारोबारको अभिलेख राख्ने, लेखा प्रतिवेदन तयार गर्ने, आय विवरण पेस गर्ने तथा कर दाखिला गर्ने प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउने सरकारको योजना रहेको उनले बताए ।

उनका अनुसार उद्यम तथा व्यवसायको प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कर नीतिमा सुधार गर्नुका साथै करका दर र दायराको पुनरावलोकन गरिरहेको छ । भन्सार महसुल र अन्तःशुल्कलगायतका क्षेत्रमा पनि सुधारका काम अघि बढाइएको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरूपको करदाता पोर्टल शुभारम्भ गरेका थिए । सोही अवसरमा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा स्मारिका पनि विमोचन गरिएको थियो ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले नीतिगत सुधारलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *