देश

शहीदहरूको बलिदानबाट बनेको काँग्रेसलाई कसैले बन्दी बनाउन सक्दैन : देउवा

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताएका छन् ।

शनिबार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा अब केही प्राप्त गर्नु नरहेको उल्लेख गर्दै पार्टीका लागि अन्तिम समयसम्म संघर्ष गरिरहने बताएका हुन् ।

पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको स्मरण गर्दै उनले काँग्रेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए ।

काँग्रेस हजारौँ नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र शहीदहरूको बलिदानबाट निर्माण भएको पार्टी भएको उल्लेख गर्दै देउवाले कसैले चाहँदैमा पार्टीको इतिहास, विचार र अस्तित्व समाप्त गर्न नसक्ने जिकिर गरे ।

‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन । तर पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्नु मेरो कर्तव्य हो । जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बन्ने अवसर दियो, त्यो पार्टीप्रति मेरो जिम्मेवारी र समर्पण पनि उत्तिकै हुनुपर्छ,’ उनले भने ।

देउवाले शहीदहरूको रगत र समर्पणबाट बनेको पार्टीलाई कसैले आफ्नो नियन्त्रणमा राख्न नसक्ने बताए । पार्टीको इतिहास, योगदान र बलिदानको सम्मान गर्दै काँग्रेसको संरक्षण र एकताका लागि सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

उनले शहीदहरूको सपना, कार्यकर्ताको त्याग र जनताको विश्वासबाट निर्माण भएको पार्टीको अस्तित्व र विचारको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *