देश

प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर ७ देखि ९ गतेसम्म गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको मिति मंसिर ७ देखि ९ गतेसम्म प्रस्तावित गरिएको स्रोतहरूले जनाएका छन्। यद्यपि, दुवै देशबीच औपचारिक सहमति भएपछि मात्रै भ्रमणको मिति निश्चित हुने अधिकारीहरूले बताएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गरेका हुन्।

मंगलबार बिमस्टेक बैठक सम्पन्न भएपछि गुरुङ र शाहबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय सुरक्षा सहयोग, सीमा व्यवस्थापन तथा प्रधानमन्त्रीको भ्रमणबारे कुराकानी भएको बताइएको छ।

भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले पनि दुई गृहमन्त्रीबीचको भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल भएको पुष्टि गरेका छन्। तर, उनले भ्रमणको निश्चित मिति भने सार्वजनिक गरेनन्।

थापाका अनुसार भ्रमणको तयारी नेपाल र भारत दुवैतर्फ भइरहेको छ। आपसी सहमतिमा मिति तय गरिने उनको भनाइ छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मंसिर ७ गतेलाई आधार मानेर आवश्यक तयारीसमेत अघि बढाइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *