देश

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

काठमाडौँ । नेकपा (एमाले)भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठित कार्यदलले एकीकृत प्रतिवेदन तयार गर्ने भएको छ । प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलमा रहेका नेताहरूबीच सहमतिको प्रयास जारी छ ।

गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदन एकीकृत गर्न लागिएको हो । कार्यदलको आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरी सचिवालय बैठकमा पेस गर्ने समझदारी गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पुनर्गठनको कार्यसूचीका आधारमा विशेष महाधिवेशन नबोलाउने तथा वर्तमान सरकारका कामकारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषय प्रतिवेदनमा समेट्नेबारे छलफल भएको छ ।

यस्तै, नेतृत्वको कार्यकाल, उमेर हदलगायत विधानमा गर्नुपर्ने संशोधनका विषय नियमित विधान महाधिवेशनमा छलफल गर्ने तथा प्रदेशस्तरमा प्राप्त सुझावलाई प्रतिवेदनको अङ्गका रूपमा समावेश गर्ने विषयमा पनि कुराकानी भएको उनले बताए ।

एमालेभित्र बदलिँदो मनोविज्ञान र परिस्थितिलाई ध्यानमा राख्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न खुला रूपमा छलफल गरी साझा प्रतिवेदन सचिवालय बैठकमा पेस गरिने बस्नेतले बताए । उनले नेतृत्व पुनर्गठनको विषय भने कार्यदलको प्रतिवेदनमा नआउने स्पष्ट गरे ।

गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीको पराजयलगायत विषयको समीक्षा गरी पार्टी र जनताबीचको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण तथा पुनर्गठनका सुझाव दिन कार्यदल गठन गरिएको थियो । कार्यदलले प्रदेशस्तरमा पुगेर सुझाव सङ्कलन गरेको थियो ।

बल्थलीमा भएको बैठकले पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।

महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन र कार्यदलका संयोजक थापाले तयार गरेको फरक प्रतिवेदन सार्वजनिक भएपछि एमालेभित्र विवाद देखिएको थियो ।

गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । जेठ २६ गते अध्यक्ष ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव सङ्कलन गर्ने कार्यतालिका तय गरेको थियो ।

यसैबीच, एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक असोज ५, ६ र ७ गतेका लागि तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *