काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणमा दोषी ठहर भएकाहरुको सजाय निर्धारण भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले २ पूर्वमन्त्रीसहित १५ जनालाई सजाय निर्धारण भएको हो ।
गत असार २४ गते न्यायाधीश खड्काको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो भने आज सजाय तोकिएको हो ।
जसअनुसार भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । उनलाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको छुट्टाछुट्टै कसुरलाई एकीकृत गरी सो सजाय निर्धारण गरिएको हो ।
यसैगरी पूर्व गृहमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँडको समय तोकिएको छ । टोपबहादुरलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तथा बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ ।
यसैगरी पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।




