काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा नयाँ मन्त्रीहरु नबनाउने भएको छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएपछि तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने उपसभापति विश्वप्रकाश शर्माले जनाएका छन् ।कांग्रेसले तत्कालै नयाँ मन्त्री बनाउन सूची नबुझाउने तयारी रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेस र एमाले बीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो । बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । प्रदेश सरकारले बजेट ल्याइसकेको छ । बजेट ल्याएपछि मुख्यमन्त्री परिवर्तनको चर्चा छ । प्रदेश सरकार परिवर्तन गर्न छलफल हुँदा कर्णालीको पनि विवाद टुंगिने उपसभापति शर्माको भनाइ छ ।
उपसभापति शर्माका अनुसार दुई दलका बिचमा भएको संवादकै निरन्तरताका रुपमा कर्णालीका मन्त्रीहरुले सामूहिक राजीनालाई बुझ्नुपर्छ । कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसबाट मन्त्री बनेकोहरु आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिएका हुन् ।
अहिले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । राजीनामा दिएका सुरेश अधिकारीले विगतमा भएको आलोपालो सहमती अनुसार सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर एमालेले त्यसमा इमान्दारिता नदेखाएकाले आज चारै जनाले राजीनामा दिएका हुन् । २०८० चैत २७ गते कँडेल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । कांग्रेस सहभागीले २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा सहभागिता जनाएको थियो ।




