भैरहवा (रुपन्देही)। नेपालकै दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा ठूलो अपेक्षासहित सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल चार वर्ष बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामै छ। अत्याधुनिक पूर्वाधार, अर्बौं रुपैयाँको लगानी र सरकारी सहुलियत हुँदाहुँदै पनि विमानस्थलले अपेक्षित व्यावसायिक गति लिन सकेको छैन।
हाल विमानस्थलमा कहिलेकाहीँ चार्टर उडान भए पनि नियमित अन्तरराष्ट्रिय सेवा सञ्चालन हुन नसक्दा अन्तरराष्ट्रिय टर्मिनल प्रायः सुनसान देखिन्छ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान सञ्चालन गरे पनि यात्रु अभावका कारण ‘समर सिड्युल’सँगै सेवा स्थगित गरेको हो। अहिले अक्टोबरसम्म कुनै नियमित अन्तरराष्ट्रिय उडान तालिकामा छैन।
उनका अनुसार समस्या विमानस्थलको पूर्वाधारमा नभई बजार व्यवस्थापन, यात्रु परिचालन र नीतिगत समन्वयमा छ। “विमान आउँछ, तर पर्याप्त यात्रु हुँदैनन्। फर्किने उडानमा जहाज लगभग खाली हुने भएकाले व्यावसायिक रूपमा सेवा टिकाउन कठिन भएको छ,” उनले बताए।
साहले यात्रु सम्भावना भने पर्याप्त रहेको उल्लेख गर्दै लुम्बिनी मात्र नभई मधेस, कोशी र सुदूरपश्चिम प्रदेशबाट समेत भैरहवा हुँदै अन्तरराष्ट्रिय यात्रा गर्न सकिने अवस्था रहे पनि त्यसअनुसार बजार व्यवस्थापन हुन नसकेको बताए। उनका अनुसार म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, जनरल सेल्स एजेन्ट (जीएसए) र वायुसेवा कम्पनीबीच आवश्यक समन्वयको अभावले नियमित उडान प्रभावित भएको हो।
उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्न सके विदेशी वायुसेवा कम्पनीसमेत आकर्षित हुने विश्वास व्यक्त गरे।
भारतीय शहरहरूबाट प्रत्यक्ष उडान विस्तार गर्न पनि सरकारी तहबाट आवश्यक कूटनीतिक पहल हुनुपर्ने उनको भनाइ छ। नेपाल–भारत हवाई सेवा सम्झौतामा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल समेटिएको छैन, जसका कारण भारतीय वायुसेवा कम्पनीको प्रवेश सहज हुन सकेको छैन।
सरकारले ल्यान्डिङ, नेभिगेसन, यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट तथा हवाई इन्धनमा सहुलियतजस्ता सुविधा उपलब्ध गराए पनि त्यसले मात्र नियमित उडान सुनिश्चित गर्न नसक्ने विमानस्थल प्रशासनको निष्कर्ष छ।
तथ्याङ्कअनुसार सन् २०२२ देखि २०२६ मेसम्म अन्तरराष्ट्रियतर्फ एक हजार २१८ उडान सञ्चालन भएका छन् भने ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन्। चालु वर्षको मेसम्म भने चार हजार १५३ यात्रुले मात्र सेवा लिएका छन्, जुन विमानस्थलको क्षमताको तुलनामा निकै न्यून हो।
निजी क्षेत्रले पनि विमानस्थल सञ्चालनमा सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँगको अपर्याप्त कूटनीतिक पहल र कमजोर समन्वयलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले सरकारले अन्तरराष्ट्रिय उडानको स्पष्ट नीति ल्याई भैरहवाबाट बजेट एयरलाइन्स सञ्चालनलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले स्थानीय ट्राभल व्यवसायीलाई पनि टिकट बिक्री र बजार व्यवस्थापनमा समान अवसर दिनुपर्ने धारणा राखे।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवालाई केवल रुपन्देहीको परियोजना नभई पश्चिम नेपालको अन्तरराष्ट्रिय प्रवेशद्वारका रूपमा विकास गर्नुपर्ने बताए। उनका अनुसार नेपाल एयरलाइन्सले नियमित अन्तरराष्ट्रिय उडान सुरु गरे त्यसले विदेशी वायुसेवा कम्पनीलाई समेत सकारात्मक सन्देश दिनेछ।
निजी क्षेत्रले तत्काल यात्रु उडान विस्तार कठिन भए कार्गो उडान सुरु गरी कृषि उत्पादन, औद्योगिक वस्तु तथा निर्यात व्यापार प्रवर्द्धन गर्न सकिने सुझावसमेत दिएको छ। उनीहरूको भनाइमा भारतका प्रमुख शहरसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना हुन सके लुम्बिनी, पोखरा, पाल्पा, मुक्तिनाथसहित पश्चिम नेपालको पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय सकारात्मक प्रभाव पर्नेछ।




