देश

गणेश नेपालीको आत्मदाह प्रयासपछि ट्राफिक जरिवाना र राज्यको जिम्मेवारीमाथि उठे हजारौँ प्रश्न, सडकमा प्रदर्शन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासले देशभर गम्भीर बहस सिर्जना गरेको छ। घटनापछि सामाजिक सञ्जालदेखि सडकसम्म ट्राफिक जरिवाना प्रणाली, नगरप्रहरीको कार्यशैली र राज्यको नागरिकप्रतिको जिम्मेवारीबारे तीव्र प्रश्न उठ्न थालेका छन्। विभिन्न स्थानमा प्रदर्शनसमेत भइरहेका छन् भने सरकारले घटनाको छानबिनसँगै पीडितको उपचारमा सबै संयन्त्र परिचालन गर्ने जनाएको छ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपाली बुधबार बिहान राहदानी बनाउन काठमाडौं पुगेका थिए। विदेश जाने क्रममा आर्थिक स्रोत जुटाउनकै लागि बिहान चारबजे घरबाट पठाओ चालकका रुपमा बाहिर निस्किएका थिए ।उनले कार्यालय अगाडि मोटरसाइकल पार्किङ गरेपछि नगरप्रहरीले जथाभावी पार्किङ गरेको भन्दै सवारीमा ह्वील लक लगाएको थियो। त्यसपछि जरिवाना र मोटरसाइकल नियन्त्रणको विषयमा विवाद भएको बताइएको छ।

प्रहरीका अनुसार पहिलो चरणमा उनी घटनास्थलबाट हिँडेका थिए। करिब दुई घण्टापछि पुनः फर्किएर आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। तर त्यो देख्दा देख्दै नगरप्रहरीले किन उसलाई नियन्त्रणमा लिएर सो घटना हुनबाट बचाउन सकेन ? घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको बताएका छन्।

घटनापछि उनका दाइले भावुक अपिल गर्दै भाइको उपचारका लागि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताएका छन्। उनले आफू केवल २०० रुपैयाँ बोकेर काठमाडौं आएको, त्यसमध्ये पनि यात्रामै खर्च भएको र अहिले अस्पतालमा उधारोमा उपचार चलाइरहेको बताएका छन्।

उनका अनुसार प्रहरीबाट दिउँसो करिब साढे दुई बजे मात्रै फोन आएको थियो। अस्पताल पुग्दा गणेशले केही शब्द बोल्न सफल भएका थिए। उनले भनेका थिए, ूदाजु, ममी–बाबालाई राम्रोसँग हेर्नु। म यस्तो गर्न बाध्य भएँ, महानगर र ट्राफिकको व्यवहारका कारण।ू त्यसपछि उनी थप बोल्न नसकेको दाइको भनाइ छ।

दाइका अनुसार गणेशले चलाएको मोटरसाइकल पनि मुगास्थित पारिवारिक जग्गाको लालपुर्जा धितो राखेर किस्ताबन्दीमा खरिद गरिएको थियो। तीन महिनाअघि मात्रै निकालेको उक्त मोटरसाइकल नै घटनाको केन्द्र बनेपछि परिवार गहिरो पीडामा परेको छ।

यता काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुखले भने नियम कार्यान्वयनकै क्रममा यस्तो दुःखद घटना हुने कल्पना समेत नगरेको बताएका छन्। उनका अनुसार सार्वजनिक सडक र फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सयौँ सवारीमा दैनिक ह्वील लक लगाइने गरिएको छ। सवारीधनी तत्काल भेटिएमा हटाउन आग्रह गरिने र नभेटिएपछि मात्र ह्वील लक लगाइने प्रचलन रहेको उनले स्पष्ट पारे।

नगरप्रहरीका अनुसार गणेशले पहिलो पटक आउँदा जरिवाना नतिर्ने र मोटरसाइकल जहाँ लैजान मन लाग्छ लैजान चुनौती दिएका थिए। त्यसपछि उनी केही समयका लागि त्यहाँबाट हिँडेका थिए। पुनः फर्किँदा उनले कुनै विवाद नगरी एक्कासि मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको दाबी नगरप्रहरीको छ। यदि त्यस्तो संकेत पहिल्यै थाहा भएको भए घटना रोक्न सकिने उनीहरूको भनाइ छ।

गणेश नेपालीको घटनाले फेरि त्यही प्रश्न उठाएको छ। रोजगारी सिर्जना भएको दाबी भइरहेका बेला किन नागरिकहरू निराशाको अन्तिम बिन्दुसम्म पुगिरहेका छन् ? सेवा लिन खोज्दा नागरिकले सम्मान होइन, अपमान र निराशा किन भोग्नुपर्ने ? यदि राज्यको कमजोरी, लापरबाही वा असंवेदनशीलताले कुनै नागरिकलाई आत्मदाह वा आत्महत्याको प्रयाससम्म पुर्‍याउँछ भने त्यसको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिने ?

यस घटनाले ट्राफिक व्यवस्थापनका नाममा लागू गरिने जरिवाना प्रणाली, नागरिकसँगको व्यवहार, आर्थिक रूपमा कमजोर वर्गमाथि पर्ने प्रभाव तथा सार्वजनिक निकायको संवेदनशीलतामाथि व्यापक बहस सुरु भएको छ। धेरैले नियम कार्यान्वयन आवश्यक भए पनि त्यसको प्रक्रिया नागरिकमैत्री र मानवीय हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

गृहमन्त्रीले गणेश नेपालीको अवस्था गम्भीर रहेकाले उनको उपचारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताएका छन्। आवश्यक परे थप उपचारका लागि भारत लैजाने तयारीसमेत भइरहेको जनाइएको छ। साथै घटनाको समग्र पक्ष छानबिन गरी आवश्यक सुधारका विषयमा सरकार गम्भीर रहेको उनले बताएका छन्।

मन्त्री गुरुङले वीर अस्पताल पुगेर आईसीयूमा उपचाररत २५ वर्षीय राइडर गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका छन् । चिकित्सकहरूले ७० प्रतिशतभन्दा बढी शरीर जलेका कारण उनको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन्। प्रधानमन्त्री बालेन शाह र गृह मन्त्री गुरुङको पहलमा सरकारले उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ। साथै, थप विशेषज्ञ उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने सबै तयारी पूरा गरिएको जनाइएको छ।

यद्यपि यो घटनाले एउटा गम्भीर प्रश्न भने छाडेको छ-कानुन कार्यान्वयन र नागरिकको सम्मानबीचको सन्तुलन कसरी कायम गर्नेरु गणेश नेपालीको आत्मदाह प्रयास केवल एक व्यक्तिको पीडा मात्र नभई राज्यको सेवा, संवेदनशीलता र उत्तरदायित्वमाथि पुनर्विचार गर्नुपर्ने चेतावनीका रूपमा हेरिन थालेको छ।

उपचारकै क्रममा गणेश नेपालीको मृत्यु, आत्मदाह घटनाले फेरि उठायो राज्यको संवेदनशीलतामाथि प्रश्न

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *