काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीबारे बयान दिएका छन्।
लेखकले आयोगमा पदाधिकारीहरूले सोधेका प्रश्नहरूको जवाफ लिखित रूपमा तयार पारी प्रस्तुत गरेका छन्। सोमबार साढे २ घण्टासम्म बयान दिएका उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमा प्रदर्शनमा बल प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको जानकारी दिएका छन्।
उनले भनेका छन्, “सुरक्षा निकायलाई मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई–तीन कुरा भनेको थिएँ। पहिलो, कुनै हताहति नहोस्, कुनै व्यक्तिको मृत्यु नहोस्। दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउनुहोस्। तेस्रो, प्रदर्शन नेतृत्व विहीन भएकोले घुसपैठ हुन सक्ने भएकाले सतर्कता अपनाउनुहोस्। मैले बैठकमा दिएको निर्देशनको सार यही हो।”
रमेश लेखकले आयोगमा पेस गरेको लिखित जवाफको प्रतिलिपी सार्वजनिक समेत गरेका छन्। यसबाट तत्कालीन गृहमन्त्रीले जेनजी आन्दोलनमा सुरक्षा निकायलाई हताहति नहोस् र शान्तिपूर्ण व्यवस्थापन कायम रहोस् भनेर स्पष्ट निर्देशन दिएको पुष्टि भएको छ। गृहमन्त्री लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए ।जेनजीले असल मनोभावनाका साथ सुरु गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर राष्ट्रविरुद्ध नै आक्रमण गरिएको उनको भनाइ छ ।‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ भयो,’ उनले भने, ‘प्रदर्शनमा घुसपैठ भएको कुरा युवा पुस्ताका भाइबैनीहरूले नै आन्दोलन हाइज्याक भयो भनेर घर फर्कन आह्वान गर्नुले पुष्टि हुन्छ । यसरी आन्दोलन हिंसात्मक बनाइयो, जसका कारण दुःखद घटना हुन पुग्यो । धेरैको मृत्यु भयो, धेरै घाइते हुनुभयो ।’
छानबिन आयोगले लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको लेखकले बताएका छन्।
आफूलाई कुन कानुनअनुसार, कति समयका लागि र कुन प्रयोजनका लागि स्थान हद गरिएको हो भन्ने जानकारी पाएको नभएको बताए। लेखकले भने, “म कानुन मान्ने नागरिक हुँ र प्रश्न उठेमा जवाफ दिने पार्टीको कार्यकर्ता पनि हुँ।” उनले सोमबार नै आयोगमा बयान दिएका थिए।




