काठमाडौं। नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियामा असहमति जनाउँदै एकीकृत समाजवादीबाट अलग भएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ पुनः नेकपा (एमाले) मा फर्किएका छन्।
सोमबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली ले पार्टीको झण्डा र खादामाला लगाएर औपचारिक रूपमा स्वागत गरेका हुन्। कार्यक्रममा सहभागी नेताहरूले अध्यक्ष ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण गर्दै पार्टीमा पुनः समर्पित हुने प्रतिबद्धता जनाएका थिए।
एमालेमा समाहित हुने नेताहरूमा झाँक्री र श्रेष्ठसँगै केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत रहेका छन्।
त्यस्तै, केदार प्रसाद गौतम, डा। सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायतका नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका छन्।
एकीकृत समाजवादीको चुनाव चिन्ह ‘कमल’ रहे पनि अब ती नेताहरू एमालेको राजनीतिक अभियानमा सक्रिय हुने भएका छन्।




