काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको घटनाले राजनीतिक तनाव र प्रशासनिक अव्यवस्था तीव्र बनाएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई गोप्य रूपमा मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट दलका सांसद र कार्यकर्ताहरू आक्रोशित बनेका छन्। प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड र कर्मचारीमाथि कुटपिटसम्मको घटना भएको पुष्टि भएको छ। भिडियोमा एक कर्मचारी फाइल जोगाउने प्रयासमा भिडको आक्रमणमा परेका देखिन्छन्।
कार्यकक्षमा तोडफोड, झन्डा फालिँदै विरोध प्रदर्शन
स्रोतका अनुसार बिहानैदेखि असन्तुष्ट दलका सांसदहरू र कार्यकर्ताहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र पसेर तोडफोडमा उत्रिएका थिए। एक सांसदले कार्यालयमा टाँसिएको राष्ट्रिय झन्डा पनि निकालेर फालेका दृश्य देखिएको बताइएको छ।
प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि केही समय प्रदेश सरकारको प्रशासनिक कामकाज अवरुद्ध भएको थियो।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले स्वास्थ्य कारण जनाउँदै प्रदेश प्रमुख काठमाडौं जाँदैछिन् भन्दै फूल दिएर बिदाइ गरेका थिए। तर त्यसपछि महोत्तरीको बर्दिबासस्थित होटल पानसमा बिहान ४ बजे प्रदेश प्रमुख भण्डारीले एमाले नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथग्रहण गराएकी थिइन्।
यसपछि मधेशको राजनीतिक वृत्तमा ठूलो तरंग आएको छ। कांग्रेस, जसपा र लोसपा लगायतका दलहरूले उक्त कार्यलाई ‘संविधान र प्रदेशको अस्मितामाथिको अपमान’ भन्दै विरोध जनाएका छन्। लोसपा नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सामाजिक सञ्जालमा लेख्दै प्रदेश प्रमुखले “मधेश प्रदेशको अस्मिता लुटेको” टिप्पणी गरेका छन्। उनले उक्त नियुक्ति संविधानविपरीत र नीतिविपरीत भएको आरोप लगाएका छन्। त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यो अवसरलाई “मधेशलाई स्वायत्त घोषणा गर्ने समय” भन्दै सडकमै सभा बोलाएर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।
‘अनैतिक राजनीतिक खेल’ : प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गोप्य रूपमा गरिएको नियुक्तिलाई “अनैतिक राजनीतिक खेल”को संज्ञा दिएका छन्। उनी लेख्छन्, “मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि गर्यो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र होइन, लुट–भ्रष्टाचारको ओडार हो।” उनका अनुसार समस्याको जरो नछुने र एकअर्कालाई दोष दिने प्रवृत्तिले राजनीतिक नैतिकता कमजोर बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रदेश प्रमुखमाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको शपथ अस्वीकार गरेको छ। रास्वपाका प्रवक्ता मनीष झाले सामाजिक सञ्जालमा लेखेका छन्, “जनकपुरबाट उपचारका लागि काठमाडौं जाँदैछु भनेर हिँडेकी प्रदेश प्रमुखले बाटोमा होटलमा पुगेर मुख्यमन्त्रीको शपथग्रहण गराइन्। यो घृणित कार्य अस्वीकार्य छ।”
संवैधानिक विवादमा पुग्ने संकेत
संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सकिने प्रावधान भए पनि, शपथग्रहणको समय, स्थान र प्रक्रिया विवादित बनेको छ। राजनीतिक दलहरूले अब यो विषय संविधानको मर्म र प्रक्रियाको उल्लङ्घन भएको दाबी गर्दै कानूनी बाटोमा लैजाने तयारी गरिरहेका छन्।
मधेश प्रदेशमा ‘गोप्य’ रूपमा गरिएको मुख्यमन्त्री नियुक्तिले केवल दलगत असन्तुष्टि मात्र होइन, संवैधानिक प्रक्रिया, राजनीतिक नैतिकता र संघीय अभ्यासबारे पनि गम्भीर प्रश्न उठाएको छ। प्रदेश राजधानी जनकपुरमा अहिले पनि विरोध प्रदर्शन जारी छन् भने प्रदेश प्रशासनमा अस्पष्टता र तनाव कायमै छ।




