काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीले उठाउँदै आएको मुद्दा नै आफ्नो हातबाट गुमेर देशमा जेनजी आन्दोलनका रुपमा प्रकट भएको भन्दै यसको आन्तरिक समीक्षा गरी सुधार गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार लिखित धारणा राख्दै उनले भ्रष्टाचारको अन्त्य र सुशासनजस्ता मुद्दा सम्बोधन गर्न नै कांग्रेस र एमालेबीच सात बुँदे सहमति भए पनि त्यसमा प्रगति नहुनाले जेनजीका नाममा आन्दोलन हुने अवस्था आएको बताए ।
भ्रष्टाचारको अन्त्य र सुशासन दिनकै लागि हामीले सरकार गठन गरेका थियौं, उनले भने, तर हामीले त्यस दिशामा कहिल्यै काम गर्न सकेनौं । र, हाम्रो मुद्दा नै लिएर जेनजी युवाहरु सडकमा उत्रने अवस्था आयो ।
जेनजीका नाममा आन्दोलन हुनुमा युवा विद्यार्थी नेविसंघको पकड युवामाझ कमजोर हुनुलाई पनि कारण मानेका भट्टराईले नेविसंघको नियमित अधिवेशन तथा नेतृत्व अद्यावधिक भैरहेको भए ठूलो संख्याका युवा विभिन्न तहमा क्रियाशिल रहने भन्दै त्यसमा चुक्नुको परिणाम भ्रष्टाचार र सुशासनको मुद्दा नेविसंघबाट हाइज्याक भएको दाबी गरे ।
‘हामीले समयमै आवधिक अधिवेशनहरुमार्फत मार्ग प्रशस्त गरिररहेको भए अहिले जेनजीको आन्दोलनमा सहभागीहरु हाम्रै संगठनका विभिन्न पदमा नेतृत्व गरिरहेका हुने थिए ।
जसबाट हामीले खतरा होइन हाम्रो पार्टीको सबलीकरणमा साथ पाइरहेका हुने थियौं । नयाँ उमेरका युवाहरुमाझ लोकतान्त्रिक विचार पैदा गराउँदै संगठनलाई अझ बलियो पारिरहेका हुने थियौं । तर, विगत १० वर्षमा हामी चुक्दाको परिणाम नेविसंघले गर्ने आन्दोलन जेनजीका नाममा हाइज्याक हुने अवस्था आइपर्यो । यदि हामीले विद्यार्थीको संगठन अहिलेका जेनजीहरु नेविसंघको झण्डामुनि गोलबद्ध भैरहेका हुने थिए,’ उनले भने उनले युवाको असन्तोष प्रतिनिधित्व गर्न कांग्रेसका भ्रातृ संगठन असक्षम देखिन्छन् भने त्यो संसदीय लोकतन्त्रकै लागि खतराको संकेत भएको पनि बताए ।
केन्द्रीय सदस्य भट्टराईले पार्टी संरचनामा ३० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने मागलाई समर्थन गर्दै नेविसंघ र तरुण दललाई कमजोर बनाउने प्रयासको आलोचना गरे। उनले एसईई पास गरेका ४० लाखभन्दा बढी नयाँ मतदातालाई कांग्रेसको छातामुनि गोलबद्ध गर्न विशेष कार्यक्रम ल्याउन आग्रह गरे।
आन्दोलनमा जेनजी समूहको संलग्नता भए पनि पर्दा पछाडिबाट अन्य शक्तिले दुरुपयोग गर्दा आन्दोलन ध्वंशात्मक बनेको टिप्पणी गरेका केन्द्रीय सदस्य भट्टराईले डिस्कर्डमा भएको छलफलमा नेताको हत्या, विमानस्थलमा आगजनी, र संरचना ध्वस्त पार्ने योजना देखिएको उल्लेख गर्दै भट्टराईले आन्दोलनको स्वरूप शान्तिपूर्ण मात्र नभई योजनाबद्ध ध्वंसात्मक रहेको संकेत गरे। उनले प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग, सुरक्षा संयन्त्रको कमजोरी, र संविधानको रक्षा गर्न धौ–धौ पर्ने अवस्था उत्पन्न हुनुको कारणको समीक्षा गर्न माग गरे।
केन्द्रीय सदस्य भट्टराईले जेनजी आन्दोलनपछिको असुरक्षाको घडीमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै संकटका समयमा खेलेको भूमिकाका लागि प्रधानसेनापतीसहित नेपाली सेनालाई धन्यवाद दिए । ‘केही मानिसहरुले नेपाललाई पनि बंगलादेश र श्रीलंका बनाउँछौं भनेर पहिले उद्घोष गरेकै थिए ध्वंसको प्रवृत्ति हेर्दा नेपाल पनि बंगलादेश हुने बाटोमै देखिन्थ्यो । तर, समयमै सेनाले शान्ति सुरक्षाको वागडोर सम्हालेका कारण कारण बंगलादेशमा जस्तो असुरक्षा अनि राजनीतिक हत्याको श्रृंखला, अनि अनिश्चितताबाट हाम्रो देश जोगिएको हो भन्ने मलाई लाग्छ,’ उनले भने । नेपाली सेनाले समयमै हस्तक्षेप गरेर देशलाई दीर्घकालीन धार्मिक द्वन्द्वबाट जोगाएको भन्दै धन्यवाद व्यक्त गरे। उनले पशुपतिनाथमा आगजनीको प्रयासलाई धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्रको रुपमा व्याख्या गरे ।
केन्द्रीय सदस्य भट्टराईले देशमा देखिएको संवैधानिक संकट टार्न खेलेको भूमिकाका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । उनले अहिलेको संकटको निकास नेपाली कांग्रेसले मात्र दिन सक्ने भन्दै पहलकदमीका लागि आग्रह गरे । ‘अहिलेको जटिल राजनीतिक अवस्थामा नेपाली कांग्रेससामु प्रमुख दुई कार्यभार छ । पहिलो पार्टीलाई जरैदेखि सुधार (रिफर्म गर्ने) र दोश्रो आम निर्वाचनमार्फत संविधानको संरक्षण र लोकतन्त्रको रक्षा गर्दै देशलाई नेतृत्व प्रदान गर्नु । निर्वाचनमा जान आनाकानी गरेका दलहरुलाई समेत विश्वासमा लिएर देशलाई निर्वाचनमा जाने वातावरणको सिर्जना गर्नु आवश्यक छ,’ उनले भने ।
महाधिवेशनबारे उठेका मागलाई सम्बोधन गर्दै भट्टराईले मंसिर १५ मा उद्घाटन गरी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने व्यक्तिगत चाहना व्यक्त गरे। उनले महाधिवेशनलाई लोकतान्त्रिक दलको अनिवार्य प्रक्रिया भन्दै आम निर्वाचनअघि वा पछि सम्पन्न गर्नेबारे सहमति निर्माण गर्न आग्रह गरे।
देशको संकट कांग्रेसले मात्र समाधान गर्न सक्छ, विभाजित हैन एकजुट भएर अघि बढौं : गोविन्द भट्टराई, केन्द्रीय सदस्य
श्री कार्यवाहक सभापतिज्यू
पदाधिकारी ज्यूहरु
पूर्व पदाधिकारी ज्यूहरु
साथै, उपस्थित साथीहरु
गत भाद्र २३ गतेयता विकसित घटनाक्रमहरुको गम्भीरता, देशले भोगिरहेको अनिश्चय, अस्थिरता अनि अन्यौलकाबीच अहिले हामी निरन्तर बैठकमा सहभागी छौं । देशको लोकतान्त्रिक इतिहासकै संवेदनशील यस घडीमा गत भाद्र २३ र २४ गते हामीले भोगेको जेनजी आन्दोलन, त्यसक्रममा घटेका घटनाक्रम अनि तत्पश्चातको अवस्था अनि आसन्न पार्टीको महाधिवेशनका विविध विषयमा महत्वपूर्ण समीक्षा, आत्मालोचना अनि भावी दिशा तय गर्नुपर्नेछ । यशर्थ यस महत्वपूर्ण घडीमा चलिरहेको केन्द्रीय समिति बैठकमा म आफ्ना धारणाहरु लिखित रुपमा राख्दैछु ।
जेनजी आन्दोलन र नेविसंघ
गत भाद्र २३ र २४ गते जेनजी आन्दोलनका नाममा इतिहासमै विरलै रक्तपातपूर्ण आन्दोलन भयो । त्यसमा सहभागी २२ जनाको दुःखद् निधन भयो । हालसम्म देशमा भएका सबैजसो परिवर्तनकारी आन्दोलनमा नेपाली कांग्रेस र यसका विद्यार्थी तथा युवा संगठनको महत्वपूर्ण योगदान छ । देशमा आएको कुनै पनि परिवर्तनको आन्दोलनबाट नेपाली कांग्रेस बाहिर थिएन । तर, यसपालीको आन्दोलन जेनजी पुस्ताहरुबाट गरिएको भनियो । आन्दोलनका मुद्दामध्येमा सामाजिक सञ्जाल नियन्त्रणविरुद्धको आक्रोश र भ्रष्टाचारमुक्त सुशासनको बहाली भनियो । हाम्रा साथीहरुले भ्रष्टाचार र सुशासनको मुद्दा जेनजीले उठाएको भन्नुभएको छ । तर, यी दुवै मुद्दा विगतदेखि नै नेपाली कांग्रेस अनि यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले उठाउँदै आएको मुद्दा हो ।
विगतमा आफ्नो माउ पार्टीलाई पनि कतिपय मुद्दामा डोहोर्याउनेदेखि पार्टीबाट उठाइएका मुद्दा र आन्दोलनको सार्थक सफलतामा सधैं नेविसंघ बलियो सहयात्री बनेर भूमिका खेलेको त्यो इतिहास भएका हाम्रा युवा विद्यार्थी संगठन युवा तथा विद्यार्थीका मुद्दा वा असन्तोषलाई प्रतिनिधित्व गर्न सक्ने अवस्था आउनु नेपाली कांग्रेस, नेविसंघ र तरुण दल मात्र होइन संसदीय लोकतन्त्रमा विश्वास गर्ने नेपालमाथिकै खतरापूर्ण अवस्था हो ।
हामी विगतमा आफैं सरकारमा रहँदा म आफैं अध्यक्ष रहँदा देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको स्मरण गराउन चाहन्छु । यस्ता विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा नेपाल विद्यार्थी संघको संलग्नताको इतिहास निकै पुरानो छ । र, हरेकजसो आन्दोलनको सफलतामा उसकै निर्णायक भूमिका रहेको कुरा यस बैठकमा सहभागी साथीहरुले प्रत्यक्ष महसुस गरेकै हुनुपर्छ । तर, अहिले त्यही मुद्दा नेपाली कांग्रेस वा हाम्रो भ्रातृ संगठन जसको इतिहास यस्तै मुद्दामा युवा विद्यार्थीको भावनाअनुसारको परिवर्तनकारी आन्दोलन गरेको इतिहास छ । हामीले विगतमा उठाउँदै आएका प्रमुख मागहरु भ्रष्टाचार नियमन र नियन्त्रण गर्ने काम के कति गर्यौं रु मेरो पार्टीको मन्त्री विचारवान, निष्ठावान र नैतिकवान छ भनेर प्रशंसा गर्ने अवसर हाम्रा सत्तामा गएका साथीहरुले कार्यकर्ताहरुलाई दिनुभयो कि भएन ? मूल प्रश्न यहाँनेर छ ।
यस घटनाको समीक्षा गर्दै गर्दा हामीले विगततिर पनि फर्कनुपर्ने हुन्छ । गएको १० वर्षमा हाम्रो सबैभन्दा शक्तिशाली भ्रातृ संगठन नेविसंघलाई कसरी योजनाबद्ध रुपमा समाप्त पार्ने काम भयो ? सबैभन्दा धारिलो र चलायमान हुनुपर्ने नेविसंघ यति सारो कमजोर अनि यति ठूलो संख्याका विद्यार्थीहरुबाट विमुख हुनुमा हामी कहाँ चुक्यौं ? विद्यालय, कलेज, क्याम्पस र विश्वविद्यालय अनि स्ववियुको अधिवेशन समयमै गर्न नसक्नुले यो बलशाली संगठनको गतिशिलतामा कमजोरी आएको हो कि ? त्यसमा हाम्रो भूमिका कहाँ कति रह्यो सबैले समीक्षा गर्दै आत्मालोचना गर्ने कि नगर्ने ? यो गम्भीर प्रश्न हो । हामीले जिल्ला तथा केन्द्रका अधिवेशन समेत समयमै गर्न नसक्दा क्षमतावान र जुझारु नेतृत्व गर्न सक्ने युवा विद्यार्थी हाम्रो संगठनमा प्रवेश गर्ने र तिखारिने वातावरण बन्न सकेन ।
जसको असर अहिले भनिएका जेनजीदेखि तल तथा माथिल्लो उमेर समूहका ठूलो संख्याका युवा नेपाली कांग्रेसको संगठनमा प्रवेश गर्ने ढोका निकै साँघुरो बन्न पुग्यो । र, जेनजी आन्दोलन हाम्रो सांगठनिक कमजोरीको नतिजा हो भन्न हामीले हिच्किचाउनु हुँदैन । मुख्य प्रश्न यसको जिम्मेवारी कसले लिने ? यदि हामीले समयमै आवधिक अधिवेशनहरुमार्फत मार्ग प्रशस्त गरिररहेको भए अहिले जेनजीको आन्दोलनमा सहभागीहरु हाम्रै संगठनका विभिन्न पदमा नेतृत्व गरिरहेका हुने थिए । जसबाट हामीले खतरा होइन हाम्रो पार्टीको सबलीकरणमा साथ पाइरहेका हुने थियौं । नयाँ उमेरका युवाहरुमाझ लोकतान्त्रिक विचार पैदा गराउँदै संगठनलाई अझ बलियो पारिरहेका हुने थियौं । तर, विगत १० वर्षमा हामी चुक्दाको परिणाम नेविसंघले गर्ने आन्दोलन जेनजीका नाममा हाइज्याक हुने अवस्था आइपर्यो ।
यदि हामीले विद्यार्थीको संगठन अहिलेका जेनजीहरु नेविसंघको झण्डामुनि गोलबद्ध भैरहेका हुने थिए । हरेक माविका कक्षा कोठा, प्लस टु, कलेज र विश्वविद्यालयका कक्षा कोठाहरु नेविसंघको नियन्त्रणमा रहने थियो । नेविसंघसँग असहमतहरु अखिलतिर झुकाव राख्थे । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने, सहादत प्राप्त गर्ने, विद्यार्थी हकहितका लागि लड्ने नेविसंघको ऐतिहासिक स्पेस हामीबाट खोसिएको छ । यो हाम्रा लागि विडम्बना हो भन्ने मलाई लाग्छ ।
हामीले तथ्यांक हेर्ने हो भने विगत १० वर्षमा एसएलसी तथा एसईई पश्चात ४८ लाख मतदाता थपिएका छन् । तर, त्यो ठूलो संख्यामध्ये कतिलाई नेविसंघले आफ्नो छाताभित्र पार्न सक्यो ? हामी कसरी त्यसमा चुक्यौं ? खोतल्दै जाने हो भने विगतमा हामीले चुकेका ठाउँहरु प्रशस्तै भेटिनेछन् । हामीले गम्भीर गल्ती गरेकै हौं । त्यसैको नियती हामीले अहिले भोगि रहनु परेको छ ।
साथीहरुले संगठनको संरचनाभित्र ३० प्रतिशत युवा सहभागीता सुनिश्चित गर्नुपर्छ भन्नुहुन्छ । विधानमा पनि यो कुरा लेखिएको छ, सुन्दा त यो कुरा बडो कर्णप्रिय लाग्छ । ३० प्रतिशत युवा हाम्रो पार्टीमा अहिले छन् कि छैनन् ? युवा विद्यार्थीको संगठन गर्ने नेविसंघ र तरुण दललाई हामीले कहाँ पुर्यायौं ? पटक पटक केन्द्रीय समितिमा ध्यानाकर्षण गराउँदा पनि अनेक खाले प्रयोग गरी यी संस्थाहरुलाई कमजोर पारियो । गत आठ नौ वर्षमा ४० लाख बढी युवाले एसईई परीक्षा उत्तीर्ण गरी नयाँ मतदाताका रुपमा प्रवेश गरेका छन् । यस पटकका घटनाबाट पाठ सिकेर देश र विदेशमा छरिएर रहेको त्यो संख्यालाई हाम्रै पार्टीको छातामुनि कसरी गोलबद्ध गर्न सकिन्छ हामीले गम्भीर भएर कार्यक्रम ल्याउनु आवश्यक छ ।
जेनजी आन्दोलनमा हाम्रो विगत र भविष्यको बाटो
जेनजी आन्दोलनले उठाएको प्रमुख मुद्दा सामाजिक सञ्जाल नियन्त्रण, भ्रष्टाचार र सुशासन भनेर भनिएको थियो । विगतमा सरकार निर्माण गर्दा नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदै सहमतिमा सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय थियो । ती मुद्दा सम्बोधनका लागि तत्कालीन सरकारले किन समयमै वार्ता गरेन रु यसमा हामी कहाँ कसरी चुक्यौं, समीक्षा गर्नु जरुरी छ । समयमै युवाहरुका वास्तविक जायज मागको सम्बोधन गरेको भए यो अकल्पनीय क्षति हामीले भोग्नुपर्ने थिएन । तर, यी काम गर्न तत्कालीन सरकार किन असफल भयो रु हामीले यसको समीक्षा गर्नु जरुरी छ ।
जेनजी आन्दोलन सञ्चालनकर्ताहरुको डिस्कर्डमा भएका छलफलहरु सुन्दा नेता मार्नेदेखि विमानस्थलको तेल डिपोमा आगो लगाउनदेखि भत्काउनेदेखि जहाजहरु समेत ध्वस्त पार्ने छलफल सुन्दा यो आन्दोलनलाई यत्तिकैमा रोक्ने जस्तो थियो भन्न सकिंदैन । यी सबै घटना हुँदा वा आक्रमणका योजना बन्दा हामी नै सत्तामा थियौं । सत्ताले देशको शान्तिसुरक्षा र हाम्रो पनि शान्ति सुरक्षा प्रदान गर्नुपर्ने ठाउँमा प्रधानमन्त्री र मन्त्रीहरुकै भागाभाग कसरी भयो ? त्यसको प्रतिवेदन आउनु पर्छ कि पर्दैन ? हाम्रै नेतृत्वमा बनेको संविधान जोगाउनका निम्ति, लोकतन्त्र रक्षाका लागि धौ धौ पर्ने अवस्था के कारणले सिर्जित भयो ? देशका राष्ट्रिय धरोहरदेखि नेताहरुका घर, न्यायालय, शासन सत्ताको केन्द्र सिंहदरबार, राष्ट्रपति निवासदेखि प्रदेश र जिल्ला सम्मका सेवाप्रदायक संरचनाहरु अनि हाम्रा नेताहरुका घरहरु एकै समयमा किन र कसरी ध्वस्त पारियो ? हाम्रा सभापति र तत्कालीन परराष्ट्रमन्त्रीज्यू माथि त ज्यानै लिने उद्देश्यले सांघातिक हमला गरियो । शायद अरु सबै नेताहरु पनि आफ्नै घरहरुमा बसेका भए अवस्था यस्तै होला भन्न नसकिने आधारहरु कम छन् ।
अर्कोतर्फ राज्यसंयन्त्रसँग ४८ घण्टासम्म समेत आन्दोलन र विद्रोह प्रतिरोध गर्न सक्ने सामथ्र्य समेत देखिएन । त्यो आन्दोलन साँच्चैको विरोध प्रदर्शन थियो कि ध्वंस गर्ने योजना ? यसबारे राज्यसंयन्त्रले समयमै किन आवश्यक परख र तयारी गर्न सकेन ? यी सबै परिस्थितीका पछाडि के के कारणहरु छन् ? त्यसको पहिचान गरी केन्द्रीय समितिले एउटा निष्कर्षमा पुग्नु जरुरी छ । जेनजी आन्दोलनकर्ताले यस क्रममा घटेका घटनाहरुको नैतिक जिम्मेवारी लिनुपर्छ । यसक्रममा आक्रमणमा पर्नु भएका पार्टी सभापति शेरबहादुर देउवा तथा तत्कालीन परराष्ट्र मन्त्री आरजु देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गर्दछु ।
देशैभर हाम्रो पार्टीका ४८ कार्यालय र १२६ नेताहरुका घरहरमा आक्रमण भएका छन् । यसको तथ्यपरक छानविन गरी दोषीउपर पनि कडा कारबाही हुनु पर्छ ।
जेनजीलाई उपयोग गरेर आफ्नो स्वार्थको रोटी सेक्न पर्दाभित्रका सञ्चालकहरुको ठूलो भूमिका रहेको सत्य कसैबाट छिपेको छैन । अबोध बालबालिकालाई विद्यालय पोशाकमै संलग्न गराएर, मानिस भित्र रहेकै अवस्थामा व्यवसायिक सहितका भवनमा आगो लगाएर हत्या गर्ने, लुटपाट गर्ने, संरचना ध्वस्त गर्ने, नेताहरुको हत्यावापत पैसा दिने जस्ता कुरा कसले गरायो ? यस आन्दोलनका नाममा भएका आक्रमणहरुमा जो जो दल वा प्रवृत्ति संलग्न छन् उनीहरुको पर्दाफास गरेर कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेसको पनि महत्वपूर्ण भूमिका रहनुपर्छ ।
जेनजी आन्दोलनको अर्थतन्त्रमा प्रभाव
दुई दिन भएका विध्वंसका घटनाहरुमा देशभर करिब ४ खर्बको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ । यस बाहेक देशको कुल गार्हस्थ उत्पादनको आधा जसो अर्थात करिब २३ खर्ब आर्थिक क्षति पुग्ने देखिएको छ । अतः यसले देशको अर्थतन्त्रमा निकै ठूलो धक्का पुग्ने देखाएको छ । यो भनेको आर्थिक रुपमा देश धेरै पछि धकेलिनु हो । यस वर्ष हाम्रो अर्थतन्त्रको वृद्धिदर ५ प्रतिशत हुने अनुमान थियो । तर, आन्दोलन र त्यसपछि सिर्जित घटनाक्रमहरुका कारण अब हाम्रो आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा तल झर्ने खतरा पैदा भएको छ ।
घटनाक्रमहरुले जेनजी आन्दोलनलाई नेपालको आन्दोलनको इतिहासमा सबैभन्दा ज्यादा आर्थिक नोक्सानी पुर्याउने विध्वंसात्मक घटनाका रुपमा चिनाएको छ । देशमै बसेर समुन्नतिको बाटोमा डोहोर्याउने तथा रोजगारी सिर्जना गर्ने मनसायका साथ सञ्चालित व्यवसायिक प्रतिष्ठान तथा सञ्चालकहरुका घरहरुमा आगो लगाउने, तोडफोड गर्ने तथा लुटपाट गर्ने कार्यबाट उत्पन्न त्रासले ठूलो परिमाणमा पुँजी पलायन पनि हुने खतरा समेत बढाएको छ ।
नेपालले आगामी वर्ष विकाससील मुलुकहरुबाट स्तरोन्नति हुने लक्ष्य बोकेर आफ्नो यात्रा अघि बढाइरहेका बेला आर्थिक वातावरण ध्वस्त पार्ने गरी भएका घटनाहरुले हाम्रो लक्ष्य पूरा गर्न निकै नै अवरोध पैदा गर्ने निश्चित छ । यस्तो जटिल अवस्थामा देशमै केही गरेर रोजगारी सिर्जना गर्ने तथा अर्थतन्त्रमा त्राण भर्ने व्यवसायीहरु निकै हतोत्साही छन् । निकै नै असुरक्षित भएका व्यवसायीहरुलाई ढाढस दिन र पुँजी पलायन हुनबाट रोक्न अनि जेनजी आन्दोलनका क्रममा भएको नोक्सानी पूर्ती गर्न नेपाली कांग्रेसले पहलकदमी लिनु आवश्यक छ । यससम्बन्धमा केन्द्रीय समिति बैठकले ठोस प्रस्ताव पारित गरोस् भन्ने म चाहन्छु ।
राष्ट्रिय संकटमा सेनाको भूमिका
नेपालले भोगेको जस्तो आन्दोलन विगतमा हाम्रा दक्षिण एसियाली छिमेकका देशहरुमा समेत भएका थिए । श्रीलंकामा भ्रष्टाचार नियन्त्रण तथा बंगलादेशमा कोटा सुधारका नाममा आन्दोलन भएको थियो । बंगलादेशको आन्दोलनका क्रममा धेरै मानिसले ज्यान गुमाउनुपर्ने, दुई मन्त्रीसहित कैयौं नेताहरुको हत्या हुने अवस्था आयो ।
सेनाले सुरक्षा दिन सक्दिन भने पछि त्यहाँका प्रधानमन्त्रीलाई विदेशमा शरण लिनुपर्ने अवस्था आयो । केही मानिसहरुले नेपाललाई पनि बंगलादेश र श्रीलंका बनाउँछौं भनेर पहिले उद्घोष गरेकै थिए ध्वंसको प्रवृत्ति हेर्दा नेपाल पनि बंगलादेश हुने बाटोमै देखिन्थ्यो । तर, समयमै सेनाले शान्ति सुरक्षाको वागडोर सम्हालेका कारण कारण बंगलादेशमा जस्तो असुरक्षा अनि राजनीतिक हत्याको श्रृंखला, अनि अनिश्चितताबाट हाम्रो देश जोगिएको हो भन्ने मलाई लाग्छ । बंगलादेशमा सेनाले शासनसत्ता हातमा लिने प्रयत्न गरेकै थियो ।
हालै मात्र पनि अफ्रिकन मूलुक माडागास्कर देशमा जेनजी आन्दोलनकै नाममा सेनाले शासनसत्ता आफ्नो हातमा लिएको दृष्टान्त हाम्रा सामु छर्लंग छ । तर, लोकतान्त्रिक चरित्रको नेपाली सेनाले लोकतान्त्रिक पद्दतीको संरक्षणमा अभूतपूर्व भूमिका खेलेको हामी सबैले महसुस गरेका छौं ।
मलाई के लाग्छ भने जेनजी आन्दोलनका पर्दा पछाडिका सञ्चालनकर्ताहरु पशुपतीनाथमा तोडफोड र आगजनी गरेर देशलाई डरलाग्दो हिंस्रक र दीर्घकालिन धार्मिक द्वन्द्वमा धकेल्न चाहन्थे । यदि त्यस घटनालाई सेनाले समयमै नरोकेको भए देश डरलाग्दो दीर्घकालिन धार्मिक द्वन्द्वमा फस्ने खतरा थियो । देशलाई ठूलो असुरक्षा र धार्मिक द्वन्द्वको दुष्चक्रबाट रक्षा गरेकामा म प्रधानसेनापतीलगायत समग्र नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु ।
भूराजनीतिक सन्तुलनमा हाम्रो कमजोरी
देशमा जेनजी आन्दोलनको नाममा यति विकराल परिस्थिती आउनुको पछाडि भूराजनीतिक स्वार्थ थिए कि थिएनन् रु हामीले दक्षिण एसियाली छिमेकी देशहरु श्रीलंका र बंगलादेशमा पनि आन्दोलनबाट सत्ता अपदस्थ भएका घटनाहरु देख्यौं । छिमेकमा त्यति विधि घटना घटिरहँदा त्यसबाट पाठ लिएर सजग हुनुपर्नेमा हामी नेतृत्व किन संवेदनशील भएनौं रु यसबारेमा देशले गम्भीर समीक्षा गर्नुपर्नेछ ।
राष्ट्रिय संकट समाधानमा कांग्रेसको पहलकदमी
हालको बदलिएको परिस्थितीपश्चात संविधान, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र राष्ट्रिय एकता कायम राख्नुपर्ने जस्ता गम्भीर चुनौती हाम्रा सामू छन् । नेपाली कांग्रेस बहुदलीय संसदस्य व्यवस्था स्थापनाका लािग नै जन्मिएको पार्टी हो । यसको संरक्षण गर्ने जिम्मेदारी पनि कांग्रेस पार्टीसँगै छ । यो दायित्वलाई हामीले कसरी पूरा गर्न सक्छौं रु त्यसको स्पष्ट एजेण्डा यो हाम्रो केन्द्रीय समितिमा आउनु आवश्यक थियो । तर, प्रष्ट आउन सकेन ।
कठिन परिस्थितीमा संविधानलाई च्यातिनबाट र लोकतन्त्र समाप्त हुन बाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हामी सबैले आभार प्रकट गर्नु आवश्यक छ । अब अहिलेको संकटको निकास के हो ? कसरी आम निर्वाचनमार्फत संविधानलाई लिकमा फर्काउने र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने हो ? यसका लागि नेपाली कांग्रेसले सरकारको मात्र भर पर्ने होइन कि नेतृत्वदायी भूमिका निवाह गर्नु आवश्यक छ । अहिलेको जटिल राजनीतिक अवस्थामा नेपाली कांग्रेससामु प्रमुख दुई कार्यभार छ । पहिलो पार्टीलाई जरैदेखि सुधार (रिफर्म गर्ने) र दोश्रो आम निर्वाचनमार्फत संविधानको संरक्षण र लोकतन्त्रको रक्षा गर्दै देशलाई नेतृत्व प्रदान गर्नु ।
निर्वाचनमा जान आनाकानी गरेका दलहरुलाई समेत विश्वासमा लिएर देशलाई निर्वाचनमा जाने वातावरणको सिर्जना गर्नु आवश्यक छ । विगतको इतिहास हेर्ने हो भने पनि नेपाली कांग्रेस आफूले जित्नका लागि मात्र होइन हार जितवाला लोकतान्त्रिक पद्दति र संविधानको रक्षाका लागि पनि निर्वाचनमा गएको छ । र, अहिले पनि हामीले त्यसैगरी आफूलाई तयार गरेर आम नागरिकको जनादेश सामना गर्न निर्वाचनमा जानु आवश्यक छ ।
पार्टी बैठकमा हामीले यी मुद्दाहरुमा गहन छलफल गरेर सहमतिमा आवश्यक कार्यदिशा तय गर्नु आवश्यक छ । तर, अहिले निर्वाचन हुँदैन वा सर्छ भन्ने तर्क पनि यदाकदा सुनिन्छ । यदि निर्वाचन सर्यो भने फेरि नेपालमा अर्को संवैधानिक संकट आउन सक्छ । किनभने हाम्रो संविधानमा घोषणा पछि निर्वाचन भएन भने के गर्ने भन्ने व्यवस्था नै छैन । त्यसैले हामी सबै एक ढिक्का भएर निर्वाचनमा लागौं । निर्वाचनमा हार जितको कुरा उम्मेदवारमा भर पर्ने भएकाले हामीले विधानवमोजिम नै कम्तिमा एक महिना अघि उम्मेदवार टुंग्याउने गरी तयारी थालिहाल्नु आवश्यक छ । निर्वाचनका लागि आवश्यक घोषणापत्र तयारी, प्रचारप्रसार तथा परिचालन समितिको पनि यसै बैठकबाट निर्माण गरौं ।
महाधिवेशनको तयारी
अहिले साथीहरुबाट विशेष महाधिवेशनको माग उठेको छ । केही साथीहरुले नियमित महाधिवेशन नै गर्नुपर्छ पनि भन्नुभएको छ । एउटा जीवन्त लोकतान्त्रिक पार्टी भएकाले नेपाली कांग्रेसका लागि महाधिवेशन अनिवार्य शर्त हो । हामी महाधिवेशनबाट पछाडि हट्नु हुँदैन । कुनै पनि लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन नै सबै संरचनाहरुलाई अद्यावधिक गर्ने, नेतृत्वमा आउने मानिसलाई नयाँ अवसर प्रदान गर्ने, नीतिहरुको पुर्नमूल्यांकन र नयाँ नीतिहरुको निर्माण गर्ने उपयुक्त थलो हो ।
व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो चाहना मंसिर १५ मा उद्घाटन भै मंसिरभित्रै महाधिवेशनका सबै कार्यहरु सम्पन्न भैसक्नुपर्छ भन्ने छ । समय नै नभएकाले पुषबाट हामी पूर्ण रुपले आम निर्वाचनमा होमिनुपर्नेछ । अघिल्लो बैठकमा डाक्टर सेखर कोइरालाबाहेक हामी कसैले पनि महाधिवेशन गर्ने विषयमा कुनै चर्चासम्म गरेनौं ।
तर, हाम्रो महाधिवेशन तयारीको काम खासै अघि बढेको छैन । त्यसैले आम निर्वाचन अगाडि महाधिवेशन सम्पन्न गर्ने कि अगाडि शुरु गरी आम निर्वाचन पछाडि सम्पन्न गर्ने भन्ने अडानको बीचबाट सहमतिको निर्माण गर्नु आवश्यक छ ।
जय नेपाल १
(नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईद्वारा प्रस्तुत लिखित प्रस्ताव )



