देश

सरकार चुनाव गराउने तयारीमा दृढ, तर सुरक्षा र राजनीतिक चुनौतिहरू कायमै

काठमाडौं । सरकारले फागुन २१ गते तोकिएको आमनिर्वाचन समयमै गराउने तयारीलाई दृढताका साथ अघि बढाइरहेको छ । तर प्रमुख राजनीतिक दलका नेताहरूबाट आएका अविश्वासपूर्ण अभिव्यक्तिका कारण निर्वाचनबारे अझै संशय कायम देखिन्छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार निजामती र सुरक्षा निकायका उच्च अधिकारीलाई संयुक्त निर्देशन दिँदै पूर्वतयारीका काम चुस्त र दुरुस्त बनाउन आग्रह गरेकी छन् । उनले निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला पक्षसँग निरन्तर संवाद भइरहेको बताउँदै सबैलाई आश्वस्त पार्ने प्रयास गरेकी हुन् ।

तर नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्लका अनुसार सम्बन्धित निकाय र राजनीतिक दलहरू अझै चुनावका लागि पर्याप्त रूपमा तयार देखिँदैनन् । उनले आन्दोलनका क्रममा लुटिएका हतियार चुनावमा दुरुपयोग हुने जोखिम पनि औँल्याए । मल्लले “सरकार बलियो छ भन्ने आभास नागरिकमा हुनुपर्छ,” भन्दै राज्य संयन्त्रको सक्रिय उपस्थिति देखिनुपर्ने सुझाव दिए ।

भूतपूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार निर्वाचन सफल बनाउन सबै पक्षलाई समेट्ने राजनीतिक वातावरण र दृढ नेतृत्व आवश्यक छ । उनले यस पटक प्रमुख दलहरू चुनावप्रति प्रतिबद्ध देखिएकाले वातावरण सकारात्मक रहेको टिप्पणी गरे ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले भने चुनावी सुरक्षाका लागि चारवटै सुरक्षा निकायबीच समन्वयात्मक संयोजन सुरु भइसकेको बताए । उनका अनुसार सम्भावित चुनौतीको पहिचान गर्दै रणनीति, जनशक्ति र उपकरण व्यवस्थापनमा तयारी तीव्र पारिएको छ ।

सरकारले नागरिक र राजनीतिक दलहरूबीच सुरक्षा र निष्पक्षताप्रति विश्वास जगाउँदै निर्वाचनका लागि तयारी अघि बढाइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *